
काठमाडौं । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट राजीनामा दिएकी छन् । रवि लामिछाने पक्राउ पर्नुअघि बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा पार्टी लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताएलगत्तै सुमनाले सह-महामन्त्री पदबाट राजीनामा दिएको खुलेको छ ।
पार्टी पुनर्संरचना गर्ने चाहानालाई सहयोग पुर्याउन श्रेष्ठले दोहोरो भूमिका निर्वाह नगर्ने बरु संसदमै प्रभावकारी भूमिका निर्वाह गर्छु भनेर राजीनामा दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
तर श्रेष्ठले आफूले केन्द्रीय समितिको बैठकमा नै आफ्ना कुरा राख्ने बताउँदै अहिले राजीनामाका सम्बन्धमा कुनै धारणा सार्वजनिक गरेकी छैनन् । रास्वपाले केन्द्रीय समिति बैठक आजका लागि बोलाएको छ ।
रास्वपामा एक व्यक्ति एक पदको नीति पार्टीमा माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने धारणा उनको रहेको छ । आफू संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने भन्दै उनले राजीनामा दिएको बताइएको छ ।