२६ बैशाख २०८१, बुधबार

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ


सन्दीप लामिछाने खुशीयाली

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनवाइ हुदैँछ । जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध आज सुनुवाइका लागि पेसी तोकिएको हो ।

यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्म मिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश ‌भएको थियो । पीडितको उमेरसम्बन्धी विषयको टुङ्गो नलाग्दा यो मुद्दामा पटक पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि निरन्तर सुनुवाइ स्थगित हुँदै आएको थियो ।

लामिछानेका कानुन व्यवसायीले सुरुदेखि नै जाहेरवालाको जन्ममितिलाई मुल मुद्दाका रुपमा पेस गर्दै बहस गरेका छन् । जाहेरवालाको नागरिकतामा उल्लेख जन्ममिति अनुसार उनी नाबालिग हुन् । तर, लामिछानेका कानुन व्यवसायीहरुले विद्यालय सर्टिफिकेट तथा जन्मदर्तामा उल्लेख भएको जन्ममिति अनुसार जाहेरवाला बालिग ठहर्ने बताउँदै आएका छन् ।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट सकाउन आदेश दिएपनि हालसम्म जिल्ला अदालतले भने अझै फैसला दिन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !