१२ आश्विन २०८१, शनिबार

विश्वकप फुटबल अतिरिक्त शुल्क तिरेर लाइभ हेर्न पाइने बाटो खुला


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिता हेर्नका लागि मिडिया हब प्रालिले दर्शकसँग अतिरिक्त ५०० शुल्क लिन पाउने आदेश दिएको छ । योसँगै मिडिया हबलाई प्रशारण शुल्क उठाउन बाटो खुलेको हो ।

सर्वोच्चले विश्वकप फुटबलको नाममा प्रतिग्राहक ५०० रुपैयाँ उठाउने निर्णय कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै थप शुल्क उठाएर विश्वकप प्रसारण गर्ने बाटो खोलिदिएको हो ।

आज बुधबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि कात्तिक २२ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई खारेज गर्दै थप शुल्क उठाएर विश्वकप प्रसारण गर्न आदेश दिएको हो ।

अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले मिडिया हबले थप शुल्क ५ सय उठाउन लागेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । केवल टेलिभिजन लिए वापत तिर्नुपर्ने सेवाशुल्क तिरेर सहजै विश्वकप हेर्न पाइने व्यवस्था रहेकोमा नीजि कुनै कम्पनीले त्यस्तो निर्णय गर्न नपाउने रिट निवेदनमा भनिएको थियो ।

गत कात्तिक २२ गते मंगलबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले अतिरिक्त शुल्क नउठाउन अन्तरिम आदेश जारी गरेको थियो ।मिडिया हब विश्वकपको नाममा विज्ञापनवापत प्रतिग्राहक रु ५०० उठाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

आगामी मंसीर ४ गते निर्वाचनको दिनबाट सुरु हुने सो विश्वकप फुटबल प्रतियोगिताको नेपालबाट प्रशारण गर्ने अधिकार पाएको मिडिया हब प्रालिले प्रतिग्राहक ५०० रुपैयाँ उठाउने निर्णय गरेकोले सोविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !