२४ बैशाख २०८१, सोमबार

सन्दीपको बयान सकियो, भोलिदेखि मात्र थुनछेक बहस सुरु


सन्दीप लामिछाने

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको आज बयान सकिएको छ । लामिछानेविरूद्ध दायर भएको मुद्दा आज न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको थियो ।

लामिछानेको बयान आज सकिएसँगै अब भोलिदेखि थुनछेक बहस हुने अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए । लामिछानेविरूद्ध हिजो सरकारी वकिलको कार्यालय काठमाडौंले दायर गरेको मुद्दाको आज काठमाडौं जिल्ला अदालतमा उनीसँग बयान लिएको हो ।

आजै थुनछेक बहस पनि हुने बताइएपनि बयान नसकिएकोले भोलिदेखि मात्र थुनछेक बहस सुरु हुने भएको हो । लामिछानेविरूद्ध १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय माग गर्दै हिजो काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने, तारेखमा छाड्ने वा धरौटमा छाड्ने भन्ने विषयमा थुनछेक बहसपछि अदालतबाट आदेश आउनेछ । अव केही दिनभित्रै अदालतको फैसला आउने सम्भावना रहेको छ ।

लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) को कसुरको अभियोग लगाइएको हो । दफा २१९ को उपदफा ३ (घ) बमोजिम १० वर्षदेखि १२ वर्षसम्मको कैद माग गर्नुका साथै पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !