२१ बैशाख २०८१, शुक्रबार

नवौँ राष्ट्रिय खेलकुद : आज उद्घाटन समारोह विशेष हुने


नवौँ राष्ट्रिय खेलकुद

कास्की । गण्डकी प्रदेशमा आज शुक्रबारदेखि औपचारिक सुरु हुँदै छ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४.०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्ने छन् । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारासहित पोखरा रङ्गशालाबाट राष्ट्रिय खेलकुदको शुक्रबार अपरान्ह समुद्घाटन गरिने भएको छ ।

असोज २८ देखि कात्तिक ३ गतेसम्मको तोकिएको मितिअगावै केही खेल सुरु भए पनि लामो समयको प्रतिक्षापछि औपचारिक उद्घाटन हुन लागेको छ । उद्घाटन समारोहलाई भव्य र उल्लासपूर्ण बनाउने गरी दुई सातादेखि तयारी गरिएको छ । समारोहमा सातै प्रदेशका संस्कृति झलिक्नेछन् भने पोखरा रङ्गशाला सिँगारिएको छ । राष्ट्रिय खेलकुदको उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुन पोखरा आइसकेका छन् ।

उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी, विद्यार्थीबाट ड्रिल प्रदर्शन र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बताए ।

उनका अनुसार केही चुनौतीलाई सामना गरेर प्रतियोगितालाई भव्य बनाउन गर्नुपर्ने सबै काम सकिएका छन् । उनले भने, “प्रतियोगिताको अन्तिम तयारी गरिरहँदा अपेक्षा नगरिएको वर्षाका कारण मौसमले केही दिन चुनौती दिए पनि मूलभूतरुपमा प्रतियोगिताको भव्य तयारी गरेका छौँ । तोकिएका खेल कार्यतालिकाअनुसार नै सञ्चालन भएका छन् ।”

समारोहमा सातौँ दक्षिण एशियाली खेलकुदका स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्वलन गर्नेछन् । प्रतियोगितामा सहभागी ११ टोलीको मस्कटसहित मार्चपास हुनेछ ।

राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएनको एक गरी ११ टोलीका छ हजार १५७ जना खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा कूल पदक सङ्ख्या स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य ६०० रहेको परिषद्ले जनाएको छ ।

त्यसैगरी प्रशिक्षक, खेल पदाधिकारी र अफिसियल गरी नौ हजारको प्रतियोगितामा सहभागिता रहने सदस्य सचिव घिसिङले जानकारी दिनुभयो । उहाँका अनुसार सबै खेलाडी आआफ्नो खेलस्थल र सम्बन्धित जिल्लामा पुगिसकेका छन् । तोकिएका खेल स्थलको मर्मत सकिएको छ भने खेलाडी तथा अफिसियलको बसोबासको व्यवस्थापन गरिएको छ । गण्डकी प्रदेशका आठ जिल्लामा प्रतियोगिताअन्तर्गतका खेल हुँदैछन् ।

उद्घाटनमा देशका सात प्रदेशको संस्कार र संस्कृति गीत, सङ्गीत, नृत्य र झाँकीका माध्यमबाट समारोहमा झल्किनेछ । नेपाली सांस्कृतिक विविधतालाई राष्ट्रिय खेलकुदको उद्घाटनले प्रतिनिधित्व गर्नेछ ।

नेपालको भूगोल र ठाउँ विशेषअनुसारको मौलिक संस्कृति प्रस्तुत गर्नेगरी नृत्य र झाँकी प्रदर्शन हुने समारोह उपसमितिले जनाएको छ । उद्घाटन समारोह दुई घण्टाको हुनेछ । प्रदेश नं १ को राई-लिम्बूको चर्चित साकेला नृत्य, मधेसको सतार र धिमाल जातिको मौलिक नृत्य उद्घाटनमा प्रस्तुत गरिनेछ ।

यसैगरी बागमतीको नेवारी संस्कृति, गण्डकीको कौडा, घाँटु र लोकगीत, लुम्बिनीको थारु संस्कृति, कर्णालीको मगर समुदायको झ्याउरे र सुदूरपश्चिमको हुर्केली गीत र झाँकी प्रस्तुत समारोहमा प्रदर्शन हुने राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य एवं समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले बताए ।

उनका अनुसार नेपालको हिमाल, पहाड र तराईको भौगोलिक विविधता र त्यसभित्रको जातीय र सांस्कृतिक फरकपनलाई झल्काउने गरी झाँकीहरु प्रस्तुत हुनेछन् । उनले भने, “उद्घाटन समारोहले समग्र प्रतियोगिताको विशेष अर्थ राख्दछ । नेपालको इतिहासमै पर्यटकीय र खेलकुदको सहरमा राम्रो र उल्लासमय वातावरणमा उद्घाटन समारोह बनाउने छौँ, सिङ्गो देश खेलकुदमय हुनेछ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !