२६ बैशाख २०८१, बुधबार

अब्दुल्लाह अल्मुताइरीले दिए फुटबलको प्रमुख प्रशिक्षकबाट राजीनामा


अब्दुल्ला अल्मुताइरी फाइल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी छाडेको घोषणा गरेका हुन् । उनले ५२५ दिनपछि आफ्नो कार्यकाल सकिएको घोषणा गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘५२५ दिन नेपाल फुटबलको सेवा पछि आज आएर नेपाली राष्ट्रिय फुटबल टोलीसँगको यात्रा अन्त्य गरेको घोषणा गर्दछु । खुशी, माया, दु:ख र पीडा बिनाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद !’

यद्यपि उनले पदत्याग गरेको कारणबारे केही खुलाएका छैनन् । पछिल्लो समय बिदामा बसेका अल्मुताइरी खेलाडीसँगको विवादका कारण एन्फाले पनि उनलाई हटाउन खोजेपछि राजीनामा दिन बाध्य भएका हुन् ।

कुवेती अल्मुताइरीले साफ च्याम्पियनसिपको पछिल्लो संस्करणमा नेपाललाई फाइनल पुर्याएका थिए । जेठमा कतारमा भएको एसियन कप छनोटमा राष्ट्रिय टोलीले भाग लिएपछि अल्मुताइरी नेपाल फर्किएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !