२२ बैशाख २०८१, शनिबार

त्रिकोणात्मक टी-२० सिरिज : उपाधिका लागि नेपाल र पिएनजी भिड्दै


सन्दिप लामिछाने र असद भाला

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । नेपाल र पिएनजी बीचको फाइनल खेल आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुनेछ ।

नेपाल र पीएनजी उपाधिका लागि आमने-सामने हुने भएका हुन् । अपराजित नेपाल उपाधि हात पार्ने दाउमा मैदानमा उत्रने भएको छ भने पीएनजी दोस्रो भएर फाइनल पुगेको हो ।

आज फाइनलमा पीएनजीलाई हराए नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नेछ । यसअघि नेपालले मलेसिया र पीएनजीविरुद्धका चारै खेल जितेको थियो ।

नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले फाइनलमा पनि सुखद नतिजालाई निरन्तरता दिँदै उपाधि घरमै राख्ने बताएका छन् । हिजो आइतबार शृंखलाको ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै कप्तान लामिछानेले घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफूले सतप्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका थिए ।

यद्यपि पीएनजीका कप्तान असद भालाले पनि आफूहरू कनै दबाबमा नरहेको बताए । कप्तान भालाले पनि अघिल्ला दुई खेलमा भएका गल्तीलाई सुधार गर्दै उपाधि उचाल्ने लक्ष्यसहित नेपालको सामना गर्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !