१४ बैशाख २०८१, शुक्रबार

एथलेटिक्सका प्रशिक्षक राईको निधन


काठमाडौँ, २० साउन । सल्यान जिल्ला खेलकूद विकास समितिअन्तर्गत एथलेटिक्सका सहायक प्रशिक्षक रवीनकुमार राईको निधन भएको छ । ब्रेन ट्युमरबाट पीडित ५२ वर्षीय राईको सोमबार राति भक्तपुरस्थित काठमाडौँ क्यान्सर सेन्टरमा निधन भएको हो ।

प्रशिक्षक राईको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको नेपाल एथलेटिक्स सङ्घका सचिव आरके विष्टले जानकारी दिनुभयो । उहाँ गत वर्ष चैतमा उपचारका लागि सल्यानबाट काठमाडौँ आउनुभएको थियो । राई २०५२ सालमा एथलेटिक्सको सहायक प्रशिक्षकका रुपमा सल्यानमा नियुक्त हुनुभएको हो ।

उहाँको गत वैशाख अन्तिम साता काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया गरिएको सचिव विष्टले बताउनुभयो । “सङ्घकै पहलमा राईको उपचारका लागि हामीले रु १० लाखभन्दा बढी सहयोग जुटाएका थियौँ”, उहाँले भन्नुभयो । प्रशिक्षक राईलाई गत जेठको पहिलो सातादेखि काठमाडौंँ क्यान्सर सेन्टरमा भर्ना गरिएको थियो । सल्यानमा निरन्तर प्रशिक्षणमा संलग्न राईले राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नुभएको सङ्घका सचिव विष्टले बताउनुभयो । राईका एक छोरा, एक छोरी र श्रीमती छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !