१४ बैशाख २०८१, शुक्रबार

विचार अनुरुपको नेतृत्व निर्माणमा दृढतापूर्वक अघि बढ्न अध्यक्ष प्रचण्डको आग्रह


प्रचण्ड

काठमाडौं, साउन १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार अनुरुपको नेतृत्व निर्माणमा दृढतापूर्वक अघि बढ्न आग्रह गर्नुभएको छ । बकर इद्को अवसरमा शुभकामना दिँदै उहाँले नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेको बताउनुभयो ।

अध्यक्षले भन्नुभयो, ‘पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो ।’ नेपालको संविधानमा नेपाल बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेखले पनि देशको बहुसांस्कृतिक पक्षलाई आत्मसात गरेको उहाँको भनाई थियो ।

अध्यक्ष प्रचण्डले समाजमा विकसित भएका सामाजिक मूल्य मान्यता, परम्परा, संस्कृति, उत्पादन सम्बन्ध, प्रविधि लगायतको भौतिक तथा अभौतिक पक्षको समुच्च रुप नै संस्कृति भएको बताउनुभयो ।

यस्तो छ अध्यक्ष प्रचण्डद्वारा जारी शुभकामनाको पूर्णपाठ :

मुस्लिम समुदायको महान् पर्व बकर इद् (ईद उल अजहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको देश हो । विविध भाषा, धर्म, कला, साहित्य, परम्परा, चालचलन, मान्यता, चाड पर्व वा संस्कारको अस्तित्व, मान्यता एवं सम्मानको अवस्था नै सांस्कृतिक विविधता हो ।

नेपालको संविधानमा नेपाल बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेखले पनि देशको बहुसांस्कृतिक पक्षलाई आत्मसात गरेको प्रष्ट हुन्छ । समाजमा विकसित भएका सामाजिक मूल्य मान्यता, परम्परा, संस्कृति, उत्पादन सम्बन्ध, प्रविधि लगायतको भौतिक तथा अभौतिक पक्षको समुच्च रुप नै संस्कृति हो ।

पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो । नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेका हुन् ।

जनताको यही आशा र भरोसाको सम्मान भनेको विचार अनुरुपको नेतृत्व निर्माण नै हो । यसको पक्षमा दृढतापूर्वक अघि बढ्न आग्रह गर्दै बकर इद् पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु ।

१७ साउन, २०७७
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु