१५ बैशाख २०८१, शनिबार

‘जातको प्रश्न’ कार्यक्रमले विवादमा तानिए राजेश हमाल, जलाइयो पुत्ला


‘जातको प्रश्न’ कार्यक्रमले विवादमा तानिए राजेश हमाल, जलाइयो पुत्ला

काठमाडौँ, २७ असोज । महानायक राजेश हमाल विवादमा तानिएका छन् । समता फाउन्डेसनको निर्माणमा हमालले सञ्जालन गर्दै आइरहेको कार्यक्रम ‘जातको प्रश्न’ का कारण उनी विवादमा तानिएका हुन् । कार्यक्रममा विभिन्न क्षेत्रमा अतिथिहरुले नेपालमा भइरहेको जातीय विभेद र छुवाछुतका बारेमा आफ्नो धारणा राख्दै आएका थिए ।

कार्यक्रमको विरोध जनाउँदै राष्ट्रिय एकता अभियानको अगुवाइमा काठमाडौंको भीमसेन गोलामा हिन्दू समर्थकले हमालको पुत्ला जलाएका छन् । समता फाउन्डेसनले कान्तिपुर टेलिभिजनबाट प्रसारण गर्दै आएको ‘जातको प्रश्न’ ‘क्रिश्चियन एड नेपाल’को लगानीमा बनेको हो ।

हमालले सञ्जालन गरेको कार्यक्रमले हिन्दूत्वमाथि आँच पुर्‍याएको भन्दै कार्यक्रमको विरोध भएको छ । सामाजिक सञ्जालमा क्रिश्चियनको लगानीमा नेपालमा हिन्दू धर्ममाथि प्रहार भएको भन्दै टिप्पणी हुन थालेको छ । यो कार्यक्रममा क्रिश्चियन एड नेपालको लगानी रहेकाले यसलाई जोडेर कतिपयले नेपालमा जातीयतामाथि प्रहार गर्नका लागि यो कार्यक्रम ल्याएको टिप्पणी गरेका छन् ।

‘जातको प्रश्न’ नेपाली समाजको विभेद र छुवाछुतको अन्त्य गर्नका लागि भन्दै सुरु भएको थियो । तर, क्रिस्चियनको लगानीमा बनेको कार्यक्रम हिन्दूबिरोधी भएको भन्दै चारैतिर बिरोध हुन थालेको छ ।

अभियानका संयोजक विनय यादवका अनुसार हमालले कार्यक्रम मार्फत नेपाली हिन्दू समाजको बदनाम गरिरहेको हुँदा कार्यक्रम तत्काल बन्द गराउनुपर्ने हिन्दू समर्थकले माग गरेका छन् । तर, कार्यक्रमले कुनै निश्चित जात, धर्म, लिंग तथा क्षेत्रप्रति पूर्वाग्रह नराखेको भन्दै समता फाउन्डेसनले एक विज्ञप्ति जारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !