२३ बैशाख २०८१, आइतबार

कोरोना कहरले बन्द भो समुदायमा ऐँचोपैँचो


भजनी नगरपालिका

टीकापुर, १९ असोज । कोरोना कहरले सबैभन्दा वढी जनस्वास्थ्यका क्षेत्रमा गम्भीर असर पुयाएको छ । यसले सामाजिक परम्परा र प्रचलनलाई समेत परिवर्तन गरिदिएको छ । गाउँघरमा चल्दै आएको ऐँचोपैँचो गर्न अहिले मानिसहरु डराउन थालेका छन् । भजनी नगरपालिका–२ का भागीरथ विकले आजभोली छिमेकीसँग तरकारी ऐँचोपैंचो गरेर खान पनि छोडेको बताउनुभयो । ‘‘छिमेकमा तरकारी, अन्नपात साटेर खाने चलन थियो, कहिलेकाही छाक टार्न सजिलो हुन्थ्यो’’, उहाँले भन्नुभयो, ‘‘कोरोना भाइरस सङ्क्रमणको डरले बाडीचुडी खान पनि बन्द भयो । जीवन अलि अप्ठ्यारो भएको छ ।’’

गाउँका एक घरमा कुनै चिज भए गाउँभरीको काम चल्ने चलन रहेको थियो । अहिले कोरोनाका कारण गाउँघरमा पैँचो दिने कुरामा आनाकानी गर्ने गरेको विशालनगर शिविर टीकापुरका जयसुर सार्कीले सुनाउनुभयो । ‘‘हामी विपन्न समुदायका मानिस एउटाको घरमा दाल पकाए अर्कोले तरकारी पकाएर खाने चलन छ’’, उहाँले भन्नुभयो, ‘‘आजभोलि एक अर्काको घर आजजाउ नै बन्द छ । बाडेर खाए त रोग सर्ला भन्ने डर छ ।’’

टीकापुर ४ की रुबिना साउँदको दुई वर्षीय छोरा छ । रुविना र उनीका छिमेकीको आँगन एउटै छ । सधैँ छिमेकीको घरमै खेल्ने छोराले रुबिनालाई निकै पिरोलेको छ । रुविनाका श्रीमान् जागिरे छन् । ‘‘६ महिनादेखि छोरालाई छिमेकीको घर जान दिएकी छैन, उनीहरुले तिम्रो श्रीमान् घरबाहिर निस्कन्छन्, जोखिम छ यहाँ नआउ भन्छन्’’, रुबिना भन्दछिन्, ‘‘ठीकै हो, अरुलाई किन जोखिममा पार्नु ? तर बच्चाले मानेको छैन । आँगनमा बार लगाएर बच्चा रोकेकी छु । बाँडीचुँडी खान बन्द भएको त ६ महिना पुग्यो । ’’

पछिल्लो समय कोभिड–१९ को जोखिम समुदायस्तरमा फैलिरहकाले नागरिक बढी त्रसित हुन थालेका बताइएको छ । यो सँगसँगै गाउँघरमा मानिसहरु वल्लोपल्लो घर आउजाउगर्ने आनीबानीमा पनि कमी आएको जानकी गाउँपालिका ५ की कलावती चौधरीले बताउनुभयो । ‘‘फुर्सदमा छिमेकमा जम्मा भएर गफ गर्ने, समुदायका समस्याबारे छलफल गर्ने चलन थियो ’’, उहाँले भन्नुभयो, ‘‘अचेल त बोल्न पनि डराउँछन्, कामकाजी मानिसको त कोही नजिक पनि पर्न चाहन्न ।’’

गाउँघरमा आफन्तबीच घेटघाट हुने,भलाकुसारी गरिने र दुःखसुख बाड्ने चलन सँगसँगै अभाव भएको नुन, तेल लगायतका सामान छिमेकीसँग माग्दा सम्बन्ध नजिक हुने कुरामा सकारात्मक होला । कोरोनाको प्रभाव बढिरहेका बेला यसरी आपसी भेटघाट र अ‍ैचोपैचो गर्नु स्वास्थ्यका दृष्टिकोणले जोखिम भएकाले केही समय नगरेकै राम्रो हुन स्वास्थ्यकर्मीहरु बताउँछन् । ‘‘केही समय बाच्नका लागि यसो गरिनुलाई गलत रुपमा नबुझौँ, बाचे फेरि राम्रा चलन अपनाउन सकिन्छ’’, टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले भन्नुभयो, ‘‘सुरक्षित तवरले सरसापट र सहयोग गर्दा हुन्छ । मानिसलाई हेर्नै नहुने होइन तर सुरक्षित हुनुपर्ने हो । सामाजिक दुरी कायम गरेर कोरोनाबाट बचौँ ।’’ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !