२३ बैशाख २०८१, आइतबार

आज साउने संक्रान्ति, लुतो फाल्ने दिन


आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन

काठमाडौँ । आज देशभर लुतो फालेर साउने संक्रान्ति पर्व मनाइँदै छ । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्वमा देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँन्छ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

सूर्यको उत्तरायणगति उर्धगति हो भने सूर्यको दक्षिणायणगति अधोगति हो । अत: सूर्यको अधोगतिको अशुभ फलको परिहारको लागि लुतो फाल्ने गरिएको हो । वास्तवमा लुतो फाल्ने भनेको आफ्नै परम्परामा आफ्नै विधिले रोगको भाइरस, फंगस, एलर्जी आदि ब्याक्टेरिया सफा गर्ने एउटा एन्टीबायोटिक पर्व भएको नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ तथा उपकुलपति डा. जगमान गुरूङ बताउछन् ।

उपकुलपति गुरूङका अनुसार यो थिति गाउँले परिवेशको चलन हो । असार महिना भरि हिलोमा चोबलियर, पानीले रुझेर धानको रोपाईँ गर्ने, थारो र कटेरोमा सुत्ने, खानपिनको पनि राम्रो व्यवस्था नहुने,प्युसा र भुसुनाले टोक्ने, मन माने पनि नमाने पनि करैले पनि काम गर्न पर्ने, यी शारीरिक एवं मानसिक शान्तिको लागि लुतो फाल्ने गरिएको हो ।

आ-आफ्नो गाउं ठाउँ र जात विशेष अनुसार लुतो फाल्ने चलन आफ्नै आफ्नै खालको हुन्छ । साउने संक्रान्तिको चमेरे साँझमा लुतो फालिन्छ । लुतो फाल्दा आगनको डिलको बान्ना माथीको ढुङ्गाको ठूलो छप्पनिलाई गाई वा गोरुको गोबरले पोतेर त्यस माथी गाई वा गोरुको गोबरको दुईटा डल्लो राखिन्छ ।गोबरको त्यस डल्लोलाई काँक्राको फूल लगाइदिन्छ । कर्कलाको पातमा हरियो मकैँ, हरियो खुर्सानी ,साउने आरु र खनिया आदि राखिन्छ ।

त्यसपछि निगाला व बाँसको सिन्काको दुइटा मुठोमा आगो बालेर घरभित्र अगेनाबाट राँकोलाई घर बाहिर निकालिन्छ । त्यस राँकोलाई गोबरको डल्लो र कर्कलाको पातको दायाँ-बायाँ राखिन्छ र त्यस राँकोमा नौनी घिउ मलेको तितेपातीको धूप हालिन्छ । त्यसपछि घरभित्र अगेनाबाट चारवटा भर्भराउँदो अगुल्टो निकालेर लुतो लैजा, लुतो लैजा भनेर चारै दिशातिर अगुल्टो फालिन्छ । अगुल्टो फाल्दा बन्दुक पड्काएर बढाइँ पनि गरिन्छ ।

लुतो फाले पछि घरको मूल ढोका माथी लुत्ते झार, कुकुर डाइनो, पैयुँ पाटे सिउँडी आदिलाई चोयाले बाँधेर राखिन्छ । यी वनस्पतिहरु सबै एन्टीबायोटिक हुन् ।यसरी लुतो फाल्ने चलन खस परम्परा हो किनभने जहाँसम्म उल्का क्षेपन गरिन्छ अथवा अगुल्टो हानेर लुतो फालिन्छ, त्यहाँसम्म सिजापतिको मुलुक हो भन्ने मान्यता छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुने भएकोले हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको हो । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् ।

परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधीका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !