१६ माघ २०७९, सोमबार

बर, पिपल, स्वामीको धार्मिक र वैज्ञानिक महत्व


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

धर्मशास्त्रमा यी तीन बोटलाई त्रिदेवको नामले चिनिन्छ । जस्तै बरलाई बट शावित्री (शिव) पनि भनिन्छ, पिपललाई विष्णु र स्वामीलाई ब्रह्मा भनेर धर्मशास्त्रमा उल्लेख गरेको पाइन्छ । गाउँले भाषामा हामीले भन्नुपर्दा बर भनेको लक्ष्मी, पिपल भनेको विष्णु र स्वामी भनेको लोकन्ती भनेर चिन्न सक्छौं । जसले जे जस्तो तरिकाले व्याख्या गरेपनि रोप्दा बर पिपल र स्वामीसंगै रोप्ने परम्परा छ किनकि यी तीनै बृक्षलाई त्रिदेवको नामले चिनिन्छ ।

आउनुहोस् यस बारेमा वैज्ञानिक मान्यता र धर्मशास्त्रले कसरी व्याख्या गरेको छ हेरौं । बर पिपलको विवाह गर्दा हमेसा स्वामीलाई समिपमा राख्नुको अर्थ यस्तो छ । वर पिपल स्वामी समिप्मा हुन आवश्यक छ किनकि ब्रह्मा, विष्णु, महेश्वर नै जगतका मालिक हुन त्यसकारण बर पिपल र स्वामीको विवाहमा स्वामीको आफ्नै अस्तित्व हुन्छ । त्यसैकारण हरेक चौतारीमा स्वामीको आफ्नो स्थान रहेको हुन्छ ।

बरको बोटलाई दिर्घजीवी मानिएको छ । हिन्दू धर्म संस्कृतिमा बरको बोटलाई पूज्य मानिएको छ । अलग-अलग देव अनुसार फरक-फरक बोट उत्पन्न भएको देखिन्छ यस बारेमा अगाडि नै भनि सकेको छु । बरको बुटाको जरामा पुजा गर्नाले फल प्राप्त हुने भनेको छ । धर्मग्रन्थमा यी दुवै बृक्षको पुजा गर्नाले सन्तान प्राप्ति हुने कुरा उल्लेख गरेको पाइन्छ । बरको बोटलाई अक्षयवटको नामले प्रसिद्ध छ ।

हिन्दु धर्ममा पीपल वृक्षको धेरै नै महत्व छ । यसलाई सबै वृक्ष भन्दा शुद्ध अथवा पूजनीय मनिन्छ । यसलाई विश्व वृक्ष, चैत्य वृक्ष अथवा वासुदेवको नामले पनि चिनिन्छ । हिन्दु दर्शनमा लेखिएको छ कि पीपलको पत्तामा देवताको नाम हुन्छ, खास गरेर विष्णु भगवानको वास हुन्छ । शनिवारको दिन शनिदेवको साथ पिपलको पुजा गरिन्छ । भनिन्छ पिपलको पुजाले काममा सफलता मिल्छ ।

यस्तो छ वैज्ञानिक कारण

प्राय: बोटविरूवामध्ये बर पिपल र स्वामीले अक्सिजन फाल्ने गर्छ । अक्सिजनको आपूर्ति गर्नमा यिनै तिनवटै रूखको ठुलो भूमिका रहेको बताइएको छ । रूखले अर्को महत्वपूर्ण काम रातमा अक्सिजन लिन्छ त्यही भएर रातमा बोट बिरूवाको तल नसुत्नु भनेको छ । तर वैज्ञानिहरूको अनुसार पीपल एकमात्र यस्तो वृक्ष हो जो जसले २४ घन्टा अक्सिजन छोडछ । त्यसैले पिपलको नजिक जाँदा रोग निको हुन्छ र शरीर स्वस्थ रहन्छ । त्यसैले पिपलको पुजा गरिन्छ ।

धार्मिक कारण

पीपलको वृक्षको पूजा गर्नुको पछडि रोचक धार्मिक कारण पनि छ । श्रीमद्भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नु भएको छ कि ‘अश्वत्थ: सर्ववृक्षाणाम, मूलतो ब्रहमरूपाय मध्यतो विष्णुरूपिणे, अग्रत: शिवरूपाय अश्वत्थाय नमो नम:’ यानी म वृक्षमा पीपल हु । पीपलको मूलमा ब्रह्माजी, मध्यमा विष्णुजी वा अग्र भागमा भगवान शिवजी साक्षात रूपले विराजित हुनुहुन्छ ।

हिन्दु परम्परामा पनि वृक्षलाइ देवताको रुप मानेर पूजा गरिन्छ । यस कारणले पीपललाइ देवता मानेर पिपलको पुजा गरिन्छ । पीपलको रुखमा नियमित रुपले जल चढाउदा मनोकामना पूर्ति हुन्छ । शत्रुको नाश हुन्छ । सुख संपत्ति, धन-धान्य, ऐश्वर्य, संतान सुखको पनि प्राप्ति हुन्छ । यसको पूजाले ग्रह दोषको पनि निवारण हुन्छ । शनिवारको दिन पीपलको वृक्षको पूजा गर्दा जीबनमा आई लागेको सबै दु:ख परेशानी दूर हुन्छ ।

यसरी तिनवटै रूखसंगै रोप्ने परम्परा सदियोंदेखि चल्दै आएको छ । अहिले नेपालमा बरपिपल र स्वामी मास्ने काम भइरहेको देखिन्छ । बर पिपलको आयुर्वेदमा ठूलो प्रयोग हुदै आएको छ । यसबाट थुप्रै औषधि बनाउने गरेको पाइन्छ । हामीले धर्मशास्त्रलाई नमानेपनि यसको महत्वलाई मानेर रोप्दा लोक कल्याण हुने देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !