२५ बैशाख २०८१, मंगलबार

पार्टी सुदृढीकरण अभियान चैतदेखि


Unification of Communist पार्टी एकीकरण

परासी, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीले अगामी चैत १ गतेदेखि तीनमहिने पार्टी एकता सुदृढीकरण( अभियान सञ्चालन गर्ने भएको छ । आइतबार परासीमा सम्पन्न पार्टी जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले‘पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टीको तल्लो तह सम्मका कार्यकर्तामा उत्साह थप्न र जनतासँग सम्बन्धलाई थप मजबुद बनाउन अभियान सञ्चालन गर्न लागिएको नेकपा जिल्ला अध्यक्ष भविश्वर तिवारीले जानकारी दिनुभयो । “वडा तहसम्मै भेला, बैठक, प्रशिक्षण, सदस्यता अद्यावधिक लगायतका गतिविधि हुनेछन्, यसबाट पार्टी एकतापछि कार्यकर्तामा उत्साह थपिनेछ्”, उहाँले भन्नुभयो ।

अभियानमा पार्टी एकता तथा सरकारले गरेका काम लगायतका बारेमा पनि तल्लो तहका कार्यकर्तालाई जानकारी गराइने छ । जिल्ला कमिटीले अभियानलाई सफल बनाउन सातवटै स्थानीय तहका कमिटीलाई तत्काल बैठक सञ्चालन गरी आवश्यक तयारी थाल्न निर्देशन दिएको छ ।

नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश नं ५ का सहइन्चार्ज बैजनाथ चौधरीले अभियान सफल बनाउन सम्पूर्ण पार्टी कार्यकर्ताहरुलाई परिचालन गर्न आग्रह गर्नुभयो । उहाँले नेकपाको नेतृत्वमा रहेका तीन तहकै सरकारबाट भइरहेका जनहितका कार्यहरुको पनि गाउँगाउँमा व्यापक प्रचार गर्न निर्देशन दिनुभयो । नेकपा प्रदेश नं ५ सङ्गठन विभाग प्रमुख भूमिश्वर ढकालले अभियानले पार्टी र सरकारको विषयमा फैलिएका भ्रमहरु चिर्न कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

बैठकले ६९ सदस्यीय जिल्ला सल्लाहकार परिषद् तथा ७३ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ । सल्लाहकार परिषद्को संयोजकमा लीला लामिछाने र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयोजकमा भीमराशि चौधरी रहनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !