२५ बैशाख २०८१, मंगलबार

सरकारको नीति कार्यान्वयन नगर्नेलाई कारवाही


pradesh n 3

९ असोज, हेटौँडा । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले वर्तमान सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन नगर्ने सुरक्षा निकायलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय र जिल्ला सुरक्षा समिति सिन्धुलीको संयुक्त आयोजनामा भएको छलफलमा उहाँले राज्यको सुरक्षाको अवस्था, सुरक्षा निकायको परिचालन, अपराध अनुसन्धानको गतिलो छानबिन र समयसापेक्ष प्रहरी प्रशासनलाई चुस्त–दुरुस्त बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री जम्मकट्टेलले बढ्दो हातहतियारको ओसार पसार, हत्या हिंसा र बलात्कारका घटना रोकथाममा प्रहरी कमजोर भएको भन्दै सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय अनुसन्धान विभागको काम समयसापेक्ष बनाइनुपर्ने बताउनुभयो ।

छलफल कार्यक्रममा आन्तरिक मामिला मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले प्रदेश सरकारको नीति तथा कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो भने सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद न्यौपानेले जिल्लाको शान्तिसुरक्षा अवस्थाबारे जानकारी गराउनुभयो ।

कार्यक्रममा नेपाल प्रहरी प्रदेश नं ३ प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकारी र सशस्त्र वाहिनी प्रमुख लगायतको सहभागिता रहेको थियो ।

कारागार निरीक्षण

मन्त्री जम्मकट्टेलले सिन्धुली कारागारको स्थलगत निरीक्षण गर्दै कैदीबन्दीलाई भेदभाव नगर्न, यातना नदिन र तोकिएको मूल्यमा खाद्यान्न तथा सामग्री उपलब्ध गराउन कारागार प्रशासनलाई निर्देशन दिनुभयो । कारागारमा ३२ जना क्षमता रहेकामा १३२ जना कैदीबन्दी रहेको बताइएको छ ।

यसैबीच मन्त्री जम्मकट्टेलले जिल्ला समन्वय समिति सिन्धुलीसँग छलफल गर्दै बजार अनुगमन निष्पक्ष स्वतन्त्र हुनुपर्ने बताउनुभयो । साथै उहाँले खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री बिक्री गर्ने सङ्घसंस्था र पेट्रोल पम्पलगायत वित्तीय संस्थाका पनि अनुगमन गर्न निर्देशन दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु