२२ बैशाख २०८१, शनिबार

आजदेखि सांसदहरूको उपस्थिति दैनिक रुपमा सार्वजनिक गरिने


कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूको उपस्थिति दैनिक रूपमा आजदेखि सार्वजनिक गरिने भएको छ । संसद भवन नयाँ वानेश्वरको शंकर हलमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरूको हाजिरी दैनिक रूपमा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले आजदेखि सुरु हुने तेस्रो अधिवेशनदेखि प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू गर्ने र विद्युतीय उपस्थिति तथा उपस्थिति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभाको बैठकमा कतिपय सांसदहरुले हाजिर मात्र गर्ने, बैठकमा नबस्ने बसिहालेपनि एकछिन बैठकमा बस्ने र बैठकको अन्त्यसम्म नबसेकोले पुरै सभाहल नै खाली हुने तर बैठक भत्ता लिने स्थिति विगतमा बारम्बार दोहोरिएकोले संसदमा आजदेखि सांसदहरूको विद्युतीय हाजिरी दैनिक रुपमा सार्वजनिक गरिने भएको हो ।

सभामुख घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यतालिका आजदेखि लागू भएपछि बैठकमा माननीयहरुको उपस्थिति र सहभागितालाई सहज हुने आफूले अपेक्षा गरेको बताएका छन् । सभामुख घिमिरेले गएको एक वर्षमा एउटामात्रै विधेयक पारित भएको विषयलाई प्रश्नहरु उठेकोले आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणामुखी बनाउन अपिल गर्ने बताएका हुन् ।

उनले सांसदहरुको उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रुपमा सार्वजनिक गरेर माननीयहरुको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही भएको स्पष्ट पारेका छन् । यस्तै कानुनमन्त्री धनराज गुरुङले धेरै गृहकार्य गरेर सभामुख र संसद सचिवालयले कार्यतालिका लागू गर्ने अवस्थामा पुगेकोले बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्ने बताए ।

यो पनि पढ्नुहोस्

आजदेखि प्रतिनिधिसभामा सांसदहरुको डिजिटल हाजिर हुने

बैठकको कार्यतालिका लागू भएपछि सांसदहरुको उपस्थितिलाई सहज हुनेछ : सभामुख घिमिरे


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !