२१ बैशाख २०८१, शुक्रबार

बैठकको कार्यतालिका लागू भएपछि सांसदहरुको उपस्थितिलाई सहज हुनेछ : सभामुख घिमिरे


देवराज घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यतालिका आजदेखि लागू भएपछि बैठकमा माननीयहरुको उपस्थिति र सहभागितालाई सहज हुने आफूले अपेक्षा गरेको बताएका छन् ।

संघीय संसद भवन नयाँ वानेश्वरको शंकर हलमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बोल्दै सभामुख घिमिरेले गएको एक वर्षमा एउटामात्रै विधेयक पारित भएको विषयलाई प्रश्नहरु उठेकोले आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणामुखी बनाउन अपिल गर्ने बताएका हुन् ।

उनले सांसदहरुको उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रुपमा सार्वजनिक गरेर माननीयहरुको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही भएको स्पष्ट पारेका छन् ।

बैठकमा सभामुखले भने– ‘प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू भएपछि बैठकमा माननीयहरुको उपस्थिति र सहभागितालाई सहज हुने अपेक्षा गरेको छु । गएको एक वर्षमा एउटामात्रै विधेयक पारित भएको विषयलाई प्रश्नहरु उठेका छन् । आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणामुखी बनाउन अपिल गर्दछु । हाम्रो उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रुपमा सार्वजनिक गरौं । माननीयहरुको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही हो ।’

यस्तै कानुनमन्त्री धनराज गुरुङले धेरै गृहकार्य गरेर सभामुख र संसद सचिवालयले कार्यतालिका लागू गर्ने अवस्थामा पुगेकोले बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्ने बताए । उनले भने– ‘धेरै गृहकार्य गरेर सम्मानीय सभामुख र संसद सचिवालयले कार्यतालिका लागू गर्ने अवस्थामा पुगेका छौं । बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्नेछ ।’

आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले आजदेखि सुरु हुने तेस्रो अधिवेशनदेखि प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू गर्ने र विद्युतीय उपस्थिति तथा उपस्थिति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !