२५ बैशाख २०८१, मंगलबार

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध एमालेद्वारा सर्वोच्चमा रिट, आइतबार पेसी


सर्वोच्च अदालत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । कोशीका मुख्यमन्त्री थापा नेतृत्वको सरकार अवैधानिक भन्दै एमाले सर्वोच्च अदालत गएको हो ।

आज शुक्रबार एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेको नेकपा एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नेपालपत्रलाई जानकारी दिए ।

एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री समेतलाई विपक्षी बनाइ आज शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् । कार्कीले दायर रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्दव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

कार्कीले आफ्नो रिटमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दावी गरेका छन् ।

निवर्तमान मुख्यमन्त्री कार्कीका तर्फबाट वारेस पवनकुमार निरौलाले शुक्रबार रिट दर्ता गराएका हुन् । सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार रिटमाथिको सुनुवाइका लागि आइतबारको पेसी तोकिएको छ ।

हिजो बिहीबार सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर बहुमतको सरकारमा दाबी गरेको थियो ।

सभामुखलाई छुट्टै हस्ताक्षर गर्न लगाएर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेस संसदीय दलका नेता थापा मुख्यमन्त्री नियुक्त भए । उनले शुक्रबार बिहान सपथग्रहण गरी कार्यभार सम्हालेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !