२५ बैशाख २०८१, मंगलबार

ओलीको दावी : दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने कोसिस भइरहेको छ


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने काम भइरहेको दावी गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आजदेखि सुरु भएको छलफलमा आफ्नो पार्टीको धारणा राख्दै अध्यक्ष ओलीले उक्त प्रकरणमा गठबन्धन सरकार निर्दोषलाई फसाउने योजना बनाएको दाबी पनि गरेका छन् ।

ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको हात नहुने भन्दै प्रहरी प्रशासनलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताए । उनले सो प्रकरणमा निर्दोषलाई फसाउन खोजिएको आरोप लगाएका हुन् ।

उनले कुनै पनि कालखण्डको भ्रष्टाचारको छानबिन गर्नुपर्ने र त्यसमा सबैको साथ तथा सहयोग हुनुपर्ने धारणा राखे । अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कारबाही हुनुपर्ने र निर्दोष व्यक्ति फस्न नहुने बताए । “दोषीमाथि दृढताका साथ कारबाही होस् । ढाकछोप गर्ने धृष्टता नगरियोस्”, उनले भने ।

ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम यथार्थताको नजिक नरहेको आरोप लगाएका छन् । उनले यो नीति तथा कार्यक्रमले देश र जनताको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बताए । उनले नीति तथा कार्यक्रम पुनःलेखन गर्न माग गरे ।

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सरकारको नीति तथा कार्यक्रमले १५औँ पञ्चवर्षीय कार्यक्रमकोसमेत समीक्षा गर्न नसकेको बताए । उनले भने, “१५औँ पञ्चवर्षीय कार्यक्रमको अन्तिम वर्षमा त्यसको गम्भीरतासाथ समीक्षा हुनुपर्नेमा, कार्यक्रम सफल भयो भएन ? कति उपलब्धि हासिल गर्न सकियो सकिएन समीक्षा गर्नुपर्नेमा त्यसमा सरकारको नीति तथा कार्यक्रम चुकेको छ ।”

उनले राष्ट्रिय समस्या समाधानका लागि सहमति, सहकार्य र एकताबाट मात्रै अगाडि बढ्न सकिने धारणा राखे । उनले सदन चलाउन तथा देशका समस्या समाधानका लागि शीर्ष नेताका बीचमा छलफल भएको जानकारी पनि दिए । तीन दलका शीर्ष नेता राष्ट्रिय हितलाई केन्द्रमा राखेर छलफल गर्ने गरेको उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर छलफल गर्नुपर्ने सुझाव दिए । उनले न्याय र समृद्धि नै लोकतन्त्र भएकाले आफ्नो दलले त्यसलाई आत्मसात् गरेको उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !