२१ बैशाख २०८१, शुक्रबार

निर्वाचन आयोगद्वारा मधेशका मुख्यमन्त्रीलाई २४ घण्टे स्पष्टीकरण


सरोजकुमार यादव

काठमाडौँ । निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई आज स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले मुख्यमन्त्री यादवलाई स्पष्टीकरण सोधेको हो ।

उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । आज बारा-२ को उपनिर्वाचनमा प्रतिकूल असर गर्ने गरी कार्य गरेको भन्दै आयोगले यादवलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत हुने गरी उनलाई के-कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो ? भनी स्पष्टीकरण सोधेको हो ।

“तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लङ्घन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकामा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?”, आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ ।

आयोगले त्यहाँ जानुको कारण खुलाउन भनेको छ । आयोगका उपसचिव कमल ज्ञवालीद्वारा जारी विज्ञप्तिका अनुसार यादवलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।

यस्तो छ आयोगले मुख्यमन्त्री यादवलाई सोधेको स्पष्टीकरण

आयोगले मुख्यमन्त्री यादवलाई सोधेको स्पष्टीकरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !