२४ बैशाख २०८१, सोमबार

मन्त्रालयको भागबण्डा औपचारिक रुपमा टुंग्याउन गठबन्धनको बैठक जारी


गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी रहेको हो ।

मन्त्रालयको भागबण्डाको विषय औपचारिक रुपमा टुंग्याउन गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन् । हिजो अपरान्ह बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डाको विषयमा सैद्धान्तिक सहमति मात्र भएको थियो ।

हिजो बैठकपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजेन्द्र श्रेष्ठले मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति भइसकेको दाबी गरेका थिए । गठबन्धनका दलहरूबीच कति वटा मन्त्रालय पाउने भन्ने विषयमा सैद्धान्तिक सहमति भएपनि कुन-कुन मन्त्रालय कुन पार्टीले पाउने भन्ने विषयमा आज सहमति हुने बताइएको छ ।

मन्त्रालयको बाँडफाँट गर्ने अधिकार आफूलाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेका थिए । अब गठबन्धन दलहरुले आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर पार्टीले आ-आफ्नो भागमा परेको मन्त्रालयको मन्त्री चयन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएपछि आज मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

उनका अनुसार आज मन्त्रिपरिषद् विस्तार भएर बेलुका शपथ हुने भएको हो । उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको छ । रास्वपाबाहेक अन्य ९ दल सरकारमा जाने सैद्धान्तिक रूपमा मन्त्रालय संख्या आज टुंगो लागेको हो ।

गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रालयको भागबण्डाको विषयमा आज सहमति जुट्न नसकेर बैठक निष्कर्षविहीन टुंगिएपछि आज पुन: बैठक बसेको हो । कुन दलले कुन मन्त्रालय पाउने भन्ने बारेमा थप बाँकी गृहकार्य आज हुँदै छ ।

श्रेष्ठका अनुसार हिजो भएको सैद्धान्तिक सहमतिअनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय पाउने भएका छन् ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरु सहभागी भएका थिए ।आजको जारी बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र जनमोर्चाबाहेक सबै दलका शीर्ष नेता सहभागी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !