१८ बैशाख २०८१, मंगलबार

जसपाका यादवको उम्मेदवारी कायमै रहने भएपछि प्रमिलाले फिर्ता लिने


प्रमिला यादव

काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवार बनेका रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेपछि सोही पार्टीबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमिला यादवले आफ्नो उम्मेदवारी फिर्ता लिने भएकी छन् ।

यादवविरुद्ध परेको उजुरी खारेज गर्दै निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी कायम गर्ने निर्णय गरेपछि प्रमिलाले आफ्नो उपराष्ट्रपति पदको लागि दिएको उम्मेदवारी फिर्ता लिने भएकी हुन् ।

आयोगले दिएको निर्धारित समयमै यादवले उम्मेदवारी फिर्ता लिने जसपाले जनाएको छ । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले नेकपा एमालेबाट उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले यादवको उम्मेदवारी खारेजीको मागसहित निवेदन दिएका थिए ।

उपराष्ट्रपति पदको उम्मेदवार फरक लिंगको हुनुपर्ने अनिवार्य व्यवस्था नभएको ठहर गर्दै निर्वाचन अधिकृतले उम्मेदवारी कायम गर्ने निर्णय गरेको हो । यादवले आजै आफूविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीविरुद्ध परेको उजुरीको जवाफ दिएका थिए ।

उपराष्ट्रपतिमा प्रमिलाले उम्मेदवारी फिर्ता लिने भएपछि अव सत्तारुढ दलहरूकै गठबन्धनबाट दुई जना र एमालेको एक गरी तीन जनाको उम्मेदवारी परेको पर्ने भएको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट एक र जनमत पार्टीबाट एक गरी दुई जनाको उम्मेदवारी पर्ने भएको हो ।

यो पनि पढ्नुहोस्

उपराष्ट्रपतिमा जसपाका यादवको उम्मेदवारी कायमै रहने

निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले दिए आफूविरुद्ध परेको उजुरीको जवाफ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !