८ जेष्ठ २०८१, मंगलबार

मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति नियुक्त


प्रा.डा. ध्रुवकुमार गौतम र प्रा.डा. विजुकुमार थपलिया

काठमाडौं । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज यी दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन् ।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त भएका हुन् ।

सरकारले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको संयोजकत्वमा छनोट तथा सिफारिस समिति समिति बनाएको थियो । उक्त समितिले प्रा.डा.ध्रुवकुमार गौतम, प्रा.डा. नन्दबहादुर सिंह र प्रा.डा.देवबहादुर खड्काको नाम सिफारिस गरेको थियो ।

यस्तै पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा समिति बनेको थियो । समितिले १२ र १३ वैशाखमा उम्मेदवारको प्रस्तुति तथा अन्तर्वार्ता सञ्चालन गरेको आधारमा सिफारिस गरेको थियो ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिष्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा अनुसार नै नियुक्त गरिएको बताए ।

समितिले सिफारिस गरेकामध्ये योग्यताक्रमको आधारमा कुलपति समेत रहेका प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने व्यवस्था रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !