१५ बैशाख २०८१, शनिबार

सासंदको सहकार्य र समन्वयबाट राष्ट्रियसभा सञ्चालन हुन्छ : उपाध्यक्ष अर्याल


उर्मिला अर्याल

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाको गरिमालाई कायम राखी सम्पूर्ण सासंदको सहकार्य र समन्वयबाट निपष्क्ष रुपमा सभा सञ्चालन गर्न सक्दो प्रयास गर्ने बताएकी छन् ।

सिंहदरबारस्थित संसद् भवनमा पदवहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले महिला सांसदको भूमिकालाई प्रभावकारी तुल्याउन आफूले विशेप ध्यान दिने उल्लेख गरिन् ।

उनले भनिन्, “राष्ट्रियसभा र प्रतिनिधिसभाका महिला सासंदलाई मुखरित गरेर महिला मुद्दालाई विशेष ध्यान दिई सहयोगको अनुकूल वातावरण सिर्जना गर्छु ।” उपाध्यक्ष पदको सानो भूमिकालाई प्रभावकारी बनाउन नयाँ शैलीबाट अगाडि बढ्ने उनको भनाइ छ ।

विंसं २०१३ असोज २० गते साविक जगरनाथपुर गाउँपालिका–५ मसिहानी, पर्सामा जन्मनुभएका अर्याल हाल वीरगञ्ज महानगरपालिका–२३, गण्डक चोक निवासी हुन् । तत्कालीन नेकपाको चौंथौ महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागेकी अर्याल गतवर्ष भएको राष्ट्रियसभाको निर्वाचनमा मधेस प्रदेशबाट निर्वाचित भएकी हुन् ।

समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका अर्याल विद्यावारीधिको शोधार्थी हुन् । अखिल नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका अर्यालले महिला विकास अधिकृतका रुपमा पनि सेवा गरेकी छन् ।

तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो । उनी विंसं २०७८ माघ १२ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !