२५ बैशाख २०८१, मंगलबार

रविलाई भेटेपछि प्रचण्डले पछि सारे पार्टीको पदाधिकारी बैठक डेढ घण्टा


माओवादी केन्द्रको पदाधिकारी बैठक फाइल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सरेको छ । माओवादी केन्द्रको बिहान ११ बजे बोलाएको पूर्वनिर्धारित पदाधिकारी बैठक साढे १२ बजे बस्ने गरी डेढ घण्टा पछि सारिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको पदाधिकारी बैठक डेढ घण्टा पछि सारेका छन् । प्रधानमन्त्री प्रचण्डको कार्यव्यस्ततालाई देखाइएर पार्टीको पदाधिकारी बैठक डेढ घण्टा सारिएको हो ।

रास्वपाका सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई आज बिहान भेटेर आफूलाई आज साँझसम्म उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्ने चेतावनी दिएपछि बालुवाटारमा हल्लीखल्ली मच्चिएको हो । रास्वापालाई पुन: गृह मन्त्रालय दिनेबारेमा पार्टीका अन्य शीर्ष नेताहरु र अन्य सत्ता साझेदार दलसँग छलफल गर्नुपर्ने भएकोले बैठक डेढ घण्टा सरेको अनुमान गर्न सकिन्छ ।

राष्ट्रपतिको निर्वाचनसम्म गृह मन्त्रालय आफूसँगै राख्ने मनस्थितिमा रहेका प्रधानमन्त्री प्रचण्ड रास्वपाको बेलुकीसम्म अल्टिमेटमपछि अव के गर्ने भन्ने बारेमा परामर्श गर्ने भएका हुन् । यद्यपि आज बस्ने पदाधिकारी बैठकमा पनि गृहमन्त्रीका विषयमा छलफल हुने बताएको छ ।

गृहमन्त्रीबाट लामिछानेले राजीनामा दिएपछि पार्टीकै नेतालाई पठाउनुपर्ने सुझाव तथा रास्वपा र एमालेले पनि रास्वपालाई नै गृह मन्त्रालय दिनुपर्ने अडान राखेपछि प्रधानमन्त्री प्रचण्ड दोहोरो दवावमा परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !