२४ बैशाख २०८१, सोमबार

सभामुखमा उम्मेदवारी दिने कांग्रेस पदाधिकारी बैठकको निर्णय


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ । काँग्रेसको पदाधिकारी बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

आज बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो । कांग्रेसले अन्य दलसँग छलफल गरेर सभामुखको उम्मेदवार टुंगो लगाउने भएको छ।

आज सभापति देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको छलफलले यस्तो निष्कर्ष निकालेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । महतले समर्थन लिन सकिने दलसँग छलफल गर्ने बताए ।

प्रवक्ता महतले मंगलबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले पनि सहमतिबाट कसरी अघि बढ्न सकिन्छ भनेर प्रस्ताव गरेको भन्दै सभामुखको उम्मेदवारी दिने सवालमा अझै केही समय पर्खिने बताए ।

उम्मेदवार भने प्रतिपक्षमा रहेका दलहरूसँग परामर्श गरेर तय गरिने एक पदाधिकारीले जानकारी दिए । बुधबार बिहान पदाधिकारी बैठक अगाडि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल धुम्बाराहीमा पुगेका थिए ।

सत्तारुढ गठबन्धनबाट नेकपा (एमाले) का देवराज घिमिरे उम्मेदवार भएका छन् । सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । प्रतिनिधि सभाको सभामुख चयन गर्न बिहीबार ११ बजे निर्वाचन हुने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !