२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त


रावल नियुक्त फाइल फोटो

सुर्खेत । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का राजेन्द्र रावल नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख जोशीले रावललाई संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टको प्रस्ताव र नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा रावलले आज मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

सुदूरपश्चिम प्रदेशमा रावललाई नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको सत्ता गठबन्धनका दलले समर्थन गरेका हुन् । गठबन्धनमा माओवादी केन्द्रका ११ जना, नेकपा एमालेका १० जना, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ जना प्रदेशसभा सदस्य गरी २९ जना प्रदेश सांसदको समर्थन गरेका हुन् ।

सुदूरपश्चिममा एमाले र माओवादी केन्द्रबीच आधा-आधा कार्यकाल आलोपालो सरकार चलाउने सहमति भएको छ । सुदूरपश्चिममा पहिलो चरणमा अढाई वर्ष रावलले मुख्यमन्त्रीका रुपमा नेतृत्व लिएपछि दोस्रो चरणमा माओवादी संसदीय दलका नेता खगराज भट्टले सरकारको नेतृत्वमा जाने सहमति भएको हो ।

नवनियुक्त मुख्यमन्त्री रावलको भोलि बिहीवार पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम तय गरिएको छ । वागमती, कर्णाली, सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादीबीच आलोपालो प्रदेश सरकारकोे नेतृत्व गर्ने सहमति भएको हो ।

सुदूरपश्चिम एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार एमालेले मुख्यमन्त्री दाबी गर्दा सभामुख माओवादीको भाग परेको छ । माओवादीको भागमा परेको सभामुखमा भीमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गरिसकेका छन् भने नेपाली कांग्रेसबाट सभामुखमा मानबहादुर रावलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका शर्मा नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !