८ बैशाख २०८१, शनिबार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका शर्मा नियुक्त


कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्मा नियुक्त भएका छन् । कर्णाली प्रदेश प्रमुख तिलक परियारले माओवादी केन्द्रका शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । प्रदेश प्रमुख परियारको कार्यालय पुगेर बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेका थिए ।

शर्माले आज माओवादी केन्द्र, एमाले, राप्रपा र एकीकृत समाजवादी पार्टीको सर्मथनमा दाबी पेस गरेका थिए । शर्माले माओवादी केन्द्रका १३, एमालेका १०,, एकीकृत समाजवादी र राप्रपाका १/१ सांसद गरी २५ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

कर्णालीको मुख्यमन्त्रीमा माओवादी केन्द्र र नेकपा (एमाले) ले आलोपालो गर्ने भएका छन् । कर्णाली प्रदेशमा एमालेको अडानपछि माओवादी केन्द्रसँग आधा-आधा कार्यकाल सरकार चलाउने सहमति भएको हो ।

आज बिहीबार दिउँसो बसेको एमाले-माओवादी दलको बैठकले आधा-आधा कार्याकाल सरकार चलाउने सहमति भएपछि माओवादी दलका नेता शर्माले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

कर्णालीमा पहिलो अढाई वर्ष शर्माले मुख्यमन्त्रीका रुपमा कर्णाली सरकारको नेतृत्व लिएपछि एमाले दलका नेता यामलाल कँडेल सरकारको नेतृत्वमा जाने सहमति भएको हो । केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भएपनि कर्णालीमा दुई दलको बैठकले आलोपालो नेतृत्व गर्ने समझदारी गरेको हो ।

माओवादी केन्द्रबाट रुकुम पश्चिम (ख) बाट निर्वाचित शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री बनेका छन् । यसैगरी कर्णालीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित ८ मन्त्रालय रहेकोमा एक मन्त्रालय घटाएर ७ बनाउने सहमति पनि भएको छ । कर्णालीमा एमालेबाट तीन र माओवादीबाट तीन गरी ६ जना मन्त्री बनाउने सहमति भएको छ ।

यो पनि पढ्नुहोस्

कर्णालीको मुख्यमन्त्रीमा माओवादी केन्द्र र एमालेले आलोपालो गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !