१४ बैशाख २०८१, शुक्रबार

प्रदेश १ काे मुख्यमन्त्रीमा एमालेका कार्कीकाे दाबी पेश


हिक्मत कार्की र पर्शुराम खापुङ फाइल फोटो

विराटनगर । प्रदेश १ काे मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेश गरेका छन् । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष कार्कीले दाबी पेश गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेश गरेका कार्कीसँग नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।

प्रदेश १ मा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, राप्रपा र जसपासहितको गठबन्धन दुई तिहाई बहुमत नजिक छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्नेमा एमालेको ४०, माओवादी केन्द्रले १३, राप्रपाको ६ र जसपाको एक गरी सत्ता गठबन्धनसँग ६० मत रहेको छ ।

यसका साथै प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको २९ र नेकपा एकीकृत समाजवादीको ४ सिट रहेको छ । कार्कीलाई मुख्यमन्त्री बनाउन दावीसहित माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलासहित नेताहरु प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

प्रदेश प्रमुख खापुङले सरकार गठनका लागि दिएको समय आज बेलुका ५ बजे सकिनुभन्दा अगावै कार्कीले दावी गरेका हुन् । अब प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्रीको रुपमा नियुक्त गर्ने बाटो खुलेको छ ।

यो पनि पढ्नुहोस्

माओवादीको निर्णय : प्रदेश १ मुख्यमन्त्रीमा एमालेका कार्कीलाई समर्थन गर्ने

प्रदेश १ सरकार गठनको समयसीमा आज सकिँदै, एमालेका कार्की मुख्यमन्त्री बन्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !