११ श्रावण २०८१, शुक्रबार

प्रदेश १ सरकार गठनको समयसीमा आज सकिँदै, एमालेका कार्की मुख्यमन्त्री बन्दै


हिक्मतकुमार कार्की

विराटनगर । प्रदेश १ सरकार गठनको समयसीमा आज सकिँदै छ । नेकपा एमाले प्रदेश सांसद तथा पूर्वमन्त्री हिक्मतकुमार कार्की प्रदेश १ को नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।

गठबन्धन दलहरु प्रदेश १ सरकारको नेतृत्व एमालेलाई दिन सहमत भएसँगै उनी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । कार्की हाल प्रदेश १ एमाले संसदीय दलका नेता समेत हुन् ।

१ नम्बर प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समय सीमा आज साँझ ५ बजे सकिँदैछ । प्रदेश प्रमुखले दिएको समयसीमाभित्र सरकारमा दाबी पेश गर्ने तयारीस्वरुप सत्तारुढ गठबन्धन तयारी गरेको हो ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्तीका लागि सात दिन भित्र दाबी पेश गर्न आह्वान गरेका थिए ।

प्रदेश १ मा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, राप्रपा र जसपासहितको गठबन्धन दुई तिहाई बहुमत नजिक छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । एमालेको ४०, माओवादी केन्द्रले १३, राप्रपाको ६ र जसपाको एक गरी सत्ता गठबन्धनसँग ६० मत रहेको छ ।

सत्तारुढ गठबन्धनबीच भागवण्डा गर्दा प्रदेश १ नेकपा एमालेको भागमा परेको छ । सत्तारुढ गठबन्धनबीच भागवण्डा हुँदा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमालेले पाएको हाे भने सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !