१५ बैशाख २०८१, शनिबार

माओवादीको निर्णय : प्रदेश १ मुख्यमन्त्रीमा एमालेका कार्कीलाई समर्थन गर्ने


प्रदेश १ माओवादी संसदीय दल बैठक

विराटनगर । नेकपा (माओवादी केन्द्र) ले प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का हिक्मत कार्कीलाई समर्थन गर्ने निर्णय गरेको छ । केही समयअघि सम्पन्न भएको माओवादी केन्द्रको प्रदेश १ संसदीय दलको बैठकले एमाले नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।

माओवादीको यो निर्णयसंगै एमाले प्रदेश सांसद तथा पूर्वमन्त्री कार्की प्रदेश १ को नयाँ मुख्यमन्त्री बन्ने पक्का भएको हो । कार्की हाल प्रदेश १ एमाले संसदीय दलका नेता समेत हुन् । अव कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका हुन् ।

१ नम्बर प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समय सीमा आज साँझ ५ बजे सकिँदैछ । प्रदेश प्रमुखले दिएको समयसीमाभित्र सरकारमा दाबी पेश गर्ने तयारीस्वरुप सत्तारुढ गठबन्धन तयारी गरेको हो ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्तीका लागि सात दिन भित्र दाबी पेश गर्न आह्वान गरेका थिए ।

प्रदेश १ मा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, राप्रपा र जसपासहितको गठबन्धन दुई तिहाई बहुमत नजिक छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । एमालेको ४०, माओवादी केन्द्रले १३, राप्रपाको ६ र जसपाको एक गरी सत्ता गठबन्धनसँग ६० मत रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रदेश १ सरकार गठनको समयसीमा आज सकिँदै, एमालेका कार्की मुख्यमन्त्री बन्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !