२३ बैशाख २०८१, आइतबार

देउवाले आफ्नो दूतको रुपमा निधिलाई पठाए ओलीलाई भेट्न बालकोट


विमलेन्द्र निधि

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दूतको रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न काँग्रेसका शीर्ष नेता विमलेन्द्र निधिलाई बालकोट पठाएका छन् । माओवादीले पहिलो चरणको प्रधानमन्त्री नपाए गठबन्धन छोड्ने चेतावनी दिएपछि देउवाले निधिलाई भावी सत्ता समीकरणको बारेमा छलफल गर्न निधिलाई पठाएका हुन् ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नदिए गठबन्धनको सहयात्रा यहि बिन्दुबाट टुंगिने चेतावनी दिएका थिए । अध्यक्ष प्रचण्ड र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको भेटपछि प्रधानमन्त्री देउवालाई भेटेका पुनले देउवा डेढ वर्ष प्रधानमन्त्री भइसकेकाले अब प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने अडान लिएका थिए ।

पुनको भनीपछि देउवाले अझै केही नबिग्रिएको भन्दै गठबन्धन र दलमा आफूले कुरा मिलाउने जवाफ दिएका थिए । माओवादीको उक्त चेतावनीपछि देउवाले ओलीसँग सम्बाद अगाडि बढाउन निधिलाई बलकोट पठाएका हुन् । आज गठबन्धको बैठक सकिएलगत्तै देउवाले निधिलाई बालकोट पठाएका हुन् ।

निधिले सम्भावित समीकरणका लागि एमालेसँग छलफल गर्न कांग्रेस तयार रहेको प्रधानमन्त्रीको सन्देशसमेत ओलीलाई सुनाएका थिए । उनीहरूबीच एमाले र कांग्रेसको सम्भावित सत्ता समीकरणबारे छलफल भएको स्रोतले दाबी गरेको छ ।

यद्यपि प्रचण्डको गठबन्धन छोड्ने चेतावनीपछि पहिलो चरणको प्रधानमन्त्री छोड्न देउवा सांकेतिक रुपमा लचिलो देखिएका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठनबन्धनको बैठकपछि संचारकर्मीसंग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन दलकै नेतृत्वमा नयाँ सरकार बनाउन शीर्ष नेताहरु सहमत भएको बताएका थिए ।

कार्कीले नयाँ सरकार गठनका लागि गठबन्धनभित्र कुनै विवाद नरहेको जिकिर गरेका थिए । कार्कीले जनताले दिएको अभिमतलाई सम्मान गर्दै गठबन्धनको सरकार बनाउने सहमति भएको बताउँदै सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भोलि बिहान बैठक बसेर निर्णय लिइने बताएका थिए ।

यस्तै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको प्रधानमन्त्री बन्ने सपना समाप्त भएको दावी गरेका थिए । प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुनः प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका थिए ।

आगामी नयाँ सरकारको पहिलो चरणमा पुन: एकपटक प्रधानमन्त्रीका हुनका लागि अधिकतम प्रयास गरिरहेका प्रचण्डको सम्भावना समयमा कदम नचालेकोले समाप्त भएको ओलीको भनाइ थियो । ओलीले पाकेको आँप उदाहरण दिँदै बेला नटिपे आफैँ झरेर जाने टिप्पणी समेत गरेका थिए ।

यसले गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन दिएको समयसीमा सकिन लाग्दा देउवाले निधिलाई बलकोट पठाएर ओलीसंग भावी सत्ता समीकरणको चावी खोल्न खोजेपछि नेपाली राजनीतिको पासा पल्टिने संकेत देखिएको हो । माओवादीले पहिलो चरणको प्रधानमन्त्री नपाएमा गठबन्धन तोड्ने चेतावनी दिएपछि एमालेको समर्थनमा आफू पहिला प्रधानमन्त्री बन्न देउवाले अर्को खेल खेल्न खोजेका हुन् ।

यो पनि पढ्नुहोस्

प्रचण्डको चेतावनीपछि पहिलो चरणको प्रधानमन्त्री छोड्न देउवा लचिलो

गठबन्धन दलकै नेतृत्वमा नयाँ सरकार बनाउन शीर्ष नेताहरु सहमत

देउवाले ‘ग्रीन सिग्नल’ नदिएमा प्रचण्ड ओलीतिर ढल्किन बाध्य हुने

आफूलाई प्रधानमन्त्री बनाउन बालुवाटार पुगेर प्रचण्डले गरे देउवालाई ताकेता

गठबन्धन छोडेर पहिला प्रधानमन्त्री बन्न प्रचण्डको नजर एमालेतिर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !