५ जेष्ठ २०८१, शनिबार

प्रचण्डको चेतावनीपछि पहिलो चरणको प्रधानमन्त्री छोड्न देउवा लचिलो


प्रचण्ड र देउवा फाइल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चेतावनीपछि पहिलो चरणको प्रधानमन्त्री छोड्न देउवा लचिलो भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठनबन्धनको बैठकमा गठबन्धन दलकै नेतृत्वमा नयाँ सरकार बनाउन शीर्ष नेताहरु सहमत भएका छन् ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का र ज्ञानेन्द्र कार्की सहभागी भएका थिए । यस्तै माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथै नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत र एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, नेताहरू राजेन्द्र पाण्डे र बेदुराम भुसाल सहभागी भएका थिए ।

राष्ट्रपति र प्रधानमन्त्री आफ्नै पार्टीले लिने दाउमा रहेका नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन अवस्था सिर्जना नभएमा पहिलो चरणको दुई वर्ष प्रधानमन्त्री पद सत्ता गठबन्धनकै माओवादी केन्द्रका प्रचण्डलाई छोड्न सकिने विकल्पमा पनि सकारात्मक देखिएका हुन् ।

देउवा पहिलो चरणको प्रधानमन्त्री पद प्रचण्डलाई छोड्ने र राष्ट्रपति तथा सभामुख काँग्रेसले लिनेमा सहमतिनजिक पुगेका हुन् । यसो गरेमा गठबन्धन पनि कायम रहने अनि दुई वर्षपछि आफू स्वत: प्रधानमन्त्री हुनेमा ढुक्क भएर प्रचण्डलाई पहिलो कार्यकालको लागि प्रधानमन्त्री छोड्न तयार भएका हुन् ।

प्रचण्डलाई प्रधानमन्त्री छोडेमा तीन वा चार प्रदेश सरकारको भावी नेतृत्वमा पनि कांग्रेसले दाबी गर्ने भएको छ । यसरी गठबन्धनमा तीन शीर्ष नेताहरु प्रचण्ड, देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आलोपालोमा प्रधानमन्त्री हुने लगभग सहमति जुटेको हो ।

गठबन्धनमा भएको सहमतिअनुसार पहिलो कार्यकाल २ वर्ष प्रचण्ड, दोस्रो कार्यकालको २ वर्ष देउवा र तेस्रो एवं अन्तिम १ वर्ष नेपाल प्रधानमन्त्री हुने गरी ‘सर्प पनि मर्ने लट्ठी पनि नभाँचिने’ भनेझैँ गठबन्धन पनि कायम रहने अनि आलोपालो प्रधानमन्त्री हुन पाइने भएकोले तीन शीर्ष नेताहरु अनौपचारिक रुपमा सहमतिनजिक पुगेका हुन् ।

आजको बैठकमा प्रधानमन्त्रीमा पहिले आफूलाई पालो दिनुपर्ने प्रचण्डले राखेको प्रस्तावमा कांग्रेस सभापति देउवाले प्रचण्डले मौन रुपमा स्वीकार गरेको देउवानिकट एक नेताले बताए । भोलि आइतबार बिहान बस्ने गठबन्धनको बैठकले समग्र शक्ति बाँडफाँटबारे सहमति जुटाएर राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमाभित्रै नयाँ सरकार गठनका लागि दाबी पेश गरिने भएको हो ।

सत्ता गठबन्धन दलहरूले यसअघि आफ्नै नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेका छन् । गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ मा एक साताको समय निर्धारण गरेकी थिइन् ।

राष्ट्रपतिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि भोलि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी छन् ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनको बैठकपछि संचारकर्मीसंग कुरा गर्दै सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताएका हुन् । कार्कीले नयाँ सरकार गठनका लागि गठबन्धनभित्र कुनै विवाद नरहेको जिकिर गरे ।

कार्कीले जनताले दिएको गठबन्धनलाई दिएको अभिमतलाई सम्मान गर्दै गठबन्धनको सरकार बनाउने सहमति भएको बताउँदै सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भोलि बिहान बैठक बसेर निर्णय लिइने बताए ।

प्रचण्डले हिजो बालुवाटार पुगेर आफूलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन देउवालाई ताकेता गरेका थिए । देउवाले हिजो प्रचण्डको उक्त अडानमा मुख खोल्न नसके पनि पार्टीमा आफूले आन्तरिक छलफल गरेर मात्र मुख खोल्ने बताएका थिए । प्रचण्डले पहिलो चरणमा आफूले प्रधानमन्त्री पद नपाए गठबन्धन छाड्ने सांकेतिक रुपमा देउवालाई चेतावनी दिएका थिए ।

सत्ता बाँडफाँटको हिसाबकिताव मिलाउन प्रचण्डले देउवालाई घुर्की लगाउँदै कांग्रेस र एमाले दुवैतिर नजर राखेपछि देउवा गलेका हुन् । गठबन्धनबाट पहिलो चरणको प्रधानमन्त्री आफूले नपाए माओवादीले कांग्रेससँगको सहकार्यलाई तोड्ने संकेत देउवाले दिइसकेका थिए ।

गठबन्धन तोडेर आएमा एमालेको आफूलाई प्रधानमन्त्री बनाउने प्रस्तावको आडमा कारण प्रचण्डले कांग्रेस नेता प्रकाशमान सिंहलाई शुक्रबार प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने चेतावनी समेत दिएका थिए । प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति आफ्नो पक्षमा रहेको भन्दै पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने अडान राखेका थिए ।

प्रचण्डको उक्त धम्कीपछि हिजो शुक्रबार प्रधानमन्त्री देउवाले प्रचण्डलाई गलाउने रणनीति बनाउन भावी सत्ता समीकरणबारे आफू पक्षीय नेताहरूसँग छलफल गरेका थिए । देउवानिकट उनीहरूले कुनै पनि हालतमा प्रधानमन्त्री पद नछाड्न देउलाई सुझाव दिएका थिए ।

प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन हिजो साँझ बालुवाटार पुगेर ताकेता गरेतापनि कांग्रेसले प्रधानमन्त्रीको बटम लाइन नछाडेको माओवादीले काँग्रेससंगको भावी सत्ता सहकार्य कमजोर हुँदै गएको निष्कर्ष निकालेको थियो । काँग्रेसले प्रधानमन्त्रीमा आफ्नो दाबी कायम राखेपछि मिल्ने सम्भावना न्यून हुँदै गएको प्रचण्ड निष्कर्षमा पुगेपछि देउवा प्रचण्डलाई पहिला प्रधानमन्त्री छोड्न लचक भएका हुन् ।

यद्यपि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको प्रधानमन्त्री बन्ने सपना समाप्त भएको दावी गरेका छन् । प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुनः प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका हुन् ।

आगामी नयाँ सरकारको पहिलो चरणमा पुन: एकपटक प्रधानमन्त्रीका हुनका लागि अधिकतम प्रयास गरिरहेका प्रचण्डको सम्भावना समयमा कदम नचालेकोले समाप्त भएको ओलीको भनाइ छ । ओलीले पाकेको आँप उदाहरण दिँदै बेला नटिपे आफैँ झरेर जाने टिप्पणी समेत गरे । यस्तै ओलीले प्रचण्डले जस्तै अरुले पनि समयमा कदम नचाले देश फेरिपनि मध्यावधि निर्वाचनतर्फ धकेलिन सम्भावना रहेको समेत औंल्याएका छन् ।

यसले गर्दा आजै देउवाले आफ्ना दूत बलकोट पठाएर ओलीसंग भावी सत्ता समीकरणको चावी खोल्न सक्ने पनि उत्तिकै सम्भावना रहेको छ । माओवादीले पहिलो चरणको प्रधानमन्त्री नपाएमा गठबन्धन तोड्ने चेतावनी दिएपछि एमालेको समर्थनमा आफू पहिला प्रधानमन्त्री बन्न देउवाले अर्को खेल खेल सक्ने प्रवल सम्भावना छ ।

यो पनि पढ्नुहोस्

गठबन्धन दलकै नेतृत्वमा नयाँ सरकार बनाउन शीर्ष नेताहरु सहमत

देउवाले ‘ग्रीन सिग्नल’ नदिएमा प्रचण्ड ओलीतिर ढल्किन बाध्य हुने

आफूलाई प्रधानमन्त्री बनाउन बालुवाटार पुगेर प्रचण्डले गरे देउवालाई ताकेता

गठबन्धन छोडेर पहिला प्रधानमन्त्री बन्न प्रचण्डको नजर एमालेतिर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !