२६ बैशाख २०८१, बुधबार

बालेनपछि चिरिबाबु पनि उत्रिए एक्सनमा, लगनखेलको मञ्जुश्री पेट्रोल पम्प सिल


लगनखेलको मञ्जुश्री पेट्रोल पम्प सिल

ललितपुर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले अबैध संरचना हटाउने अभियान जारी राखेसंगै यसको सकारात्मक असर ललितपुर महानगरपालिकामा पनि देखिएको छ ।

काठमाडौँ महानगरका मेयर बालेनपछि ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन पनि बालेनकै शैलीमा एक्सनमा उत्रिएका छन् । मेयर महर्जन तातेर महानगरभित्र रहेका अनधिकृत संरचना हटाउने अभियान सुरुवात गरेका हुन् ।

ललितपुरको लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प ललितपुर महानगरपालिकाले प्रहरीको सहयोगमा सिल गरेको छ । मापदण्डविपरित बनाइएको उक्त संरचना हटाउनका लागि महानगरले पटक-पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि आज आइतबार महानगरपालिकाले सिल गरेको हो ।

विगत ६ महिनादेखि महानगरले सो पेट्रोलपम्प मापदण्ड विपरित भएकोले हटाउन आग्रह गर्दा पनि नटरेकोले बाध्य भएर हटाउनु परेको मेयर महर्जनले जानकारी दिए ।

उक्त पेट्रोल पम्प अति संवेदनशील भएकाले महानगरले सबै तयारी पुरा गरेर हटाएको हो । महानगरले हाल सो पेट्रोल पम्प तारजाली गरी लाहा छाप लगाएर छोडेको छ ।

यसअघि बालेनकै शैलीलाई अनुशरण गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि तातेर एक्सनमा उत्रिएका थिए । पोखरा महानगरले महेन्द्रपुलस्थित भाडामा लगाइएकाे आफ्नै संरचना हटाएकाे थियो ।

भवन पूरानाे भएकाले जीर्ण रहेकाे र लामो समयदेखि व्यवसायीले भाडा बापतको रकम पनि नतिरेपछि ती भवनमा महानगरले डाेजर चलाएकाे थियो । बालेनको अबैध संरचना हटाउने अभियानको सकारात्मक प्रभाव देशैभरी क्रमश: देखिन थालेको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँपछि पोखरामा पनि चल्यो महानगरको डोजर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !