१५ बैशाख २०८१, शनिबार

काठमाडौँपछि पोखरामा पनि चल्यो महानगरको डोजर


पोखरामा महानगरको डोजर

पोखरा । काठमाडौँ महानगरपालिकापछि पोखरामा पनि महानगरले डोजर चलाएको छ । काठमाडौँ महानगरका मेयर बालेन साहले अबैध संरचना हटाउने अभियान जारी राखेसंगै यसको सकारात्मक असर पोखरामा पनि परेर त्यहाँका मेयर धनराज आचार्य पनि तातेका हुन् ।

पोखरा महानगरले महेन्द्रपुलस्थित भाडामा लगाइएकाे आफ्नै संरचना हटाएकाे हो । भवन पूरानाे भएकाले जीर्ण रहेकाे र लामो समयदेखि व्यवसायीले भाडा बापतको रकम पनि नतिरेपछि ती भवनमा महानगरले डाेजर चलाएकाे हाे ।

पाेखराका मेयर आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी लगायतकाे टाेली डाेजरसहित हिजो बिहानै महेन्द्रपुल पुगेका थिए । पटक-पटक सूचना जारी गर्दै व्यवसायीलाई उक्त स्थान खाली गर्न महानगरले आग्रह गरेपनि नटेरेकोले महानगरले डोजर चलाएको हो ।

महेन्द्रपुल चोकका ती भवनमा सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरीसहित ३२ सटरमा व्यापार व्यवसाय हुँदै आएपनि सटर बिचौलियाको हातमा पर्दा महानगरले करोडौं राजस्व उठाउन बाँकी रहेपछि महानगरले डोजर चलाएको हो ।

लायन्स क्लब अफ पाेखरा लेकसिटीले २ वटा सटर भाडामा लगाई सार्वजनिक शाैचालय समेत अर्कैलाई चलाउन दिएर रकम असुल्दै आएकाेमा अव उक्त भवन हटाएपछि सो ठाउँमा सार्वजनिक पार्क र सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको वडाध्यक्ष मर्सानीले सुनाए ।

यस्तै पोखराको सार्वजनिक ग्यालरी भत्काइएपछि अब आर्ट ग्यालरी र पुस्तकालयलाई पृथ्वीचोकस्थित ट्राफिक भवन भएको स्थानमा सारिने भएको मेयर आचार्यले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !