१४ बैशाख २०८१, शुक्रबार

काठमाडौंको फोहोर व्यवस्थापनमा सभामुख सापकोटाले मागे कोरियाको सहयोग


कोरियन प्रतिनिधिमण्डलसंग सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न दक्षिण कोरियाको सहयोग मागेका छन् । नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाली संसदीय प्रतिनिधिमण्डलसंग हिजो आइतबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भएको शिष्टाचार भेटवार्तामा सभामुख सापकोटाले कोरियाको सहयोग मागेका हुन् ।

भेटमा नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध एवं आपसी हितका विषयमा छलफल भएको थियो । सभामुख सापकोटाले नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४८ वर्षमा दुई देशका जनता र सरकारकाबीच सुमधुर सम्बन्ध रहेको बताए ।

सभामुख सापकोटाले दक्षिण कोरियाले फोहोर व्यवस्थापनका क्षेत्रमा आफूलाई अब्बल सावित गर्न सफल भएको बताउँदै राजधानी काठमाडौंको फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा रहेको बताएका थिए । उनले भने, ‘फोहोरमैला व्यवस्थापनमा दक्षिण कोरियाले अब्बल सावित गरेको छ, अन्य सहरमा पनि सहयोगको कुरा छ, काठमाडौंको फोहोरमैला व्यवस्थापनमा कोरियाली सहयोगको अपेक्षा गरेका छौं ।’

उनले नेपालीका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको गन्तव्य भएको चर्चा गरे । नेपाली कामदारको कोरियामा प्रशंसा भएकामा खुसी समेत व्यक्त गरेको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

आर्थिक र सामाजिक विकासमा दक्षिण कोरियाको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्दै सभामुख सापकोटाले कोरियाले गरेको द्रुत विकासबाट नेपालले सिक्न चाहेको धारणा राखेका थिए । नेपाल र दक्षिण कोरियाबीच उच्चसमझदारी विकास गरेर जानु पर्ने उनको भनाई थियो । उनले उच्चस्तरीय भ्रमणबाट सम्बन्ध विस्तारमा सहयोग पुगेको चर्चा गर्दै दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउन संसदीय मैत्री समुहलाई थप सक्रिय बनाउन सकिने बताए ।

भेटमा दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलका तर्फबाट कोरिया नेपाल संसदीय मैत्री समुहका अध्यक्ष लि स्याङ हेयोनले आफूहरु दक्षिण कोरियाको संसदमा रहेर नेपाललाई मायाँ गर्ने सांसदहरु रहेको बताए । कोरियामा कार्यरत नेपाली कामदारहरु मेहनती भएकोले रोजगारदाताले नेपाली कामदारहरुलाई मन पराउने गरेको उहाँको भनाई थियो । प्रतिनिधि मण्डलका सदस्यले कोरियामा नेपाली कामदारका लागि अवसर बढाउने विषयमा स्वदेश फर्केपछि श्रममन्त्रीसँग छलफल गर्ने जानकारी दिएका थिए ।

वातावरण क्षेत्र हेर्ने जिम्मेवारीमा रहेका सांसद संलग्न प्रतिनिधि मण्डलले नेपालका विभिन्न सहरमा फोहारमैला व्यवस्थापनमा कोरियाले सहयोग गरिरहेको बताउँदै काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा स्वदेश फर्केपछि गहिरो अध्ययन गर्ने जानकारी दिए ।

प्रतिनिधि मण्डलमा मैत्री समुहका अध्यक्ष लि स्याङ हेयोन सहित सांसदहरु बाइयोङ गिल एन, ह्याक योङ लि, वियोङ जु किमका साथै नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकलगायत सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !