१४ बैशाख २०८१, शुक्रबार

देव गुरुङले बाजी मारे माओवादी केन्द्रको महासचिव पद

माओवादी केन्द्रको महासचिवमा देव गुरुङ चयन


देव गुरुङ

काठमाडौँ । लामो रस्साकस्सीपछि अन्तत: देव गुरुङले सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को महासचिव पद बाजी मारेका छन् । यसअघि महासचिव पदमा प्रमुख दाबेदारी राख्दै आएका नेताहरु वर्षमान पुन र जनार्दन शर्मालाई पछि पार्दै गुरुङ महासचिवमा चयन भएका हुन् ।

माओवादी केन्द्रको महासचिवमा गुरुङ सर्वसम्मत चयन भएका हुन् । माओवादी केन्द्रको आज दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठकले गुरुङलाई महासचिवमा चयन गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गुरुङलाई महासचिव पदमा गरेको प्रस्ताव माओवादी केन्द्रको स्थायी कमिटी बैठकले अनुमोदन गरेको हो ।

प्रचण्डले अन्य ६ जना महासचिव पदका दावेदारहरुलाई उपमहासचिवमा व्यवस्थापन गरेका छन् । महासचिवमा दावी गर्दै आएका गुरुङबाहेक अरु ६ जना गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव भएका छन् ।

गुरुङसंगै माओवादी केन्द्रको महासचिवमा ७ जनाले दाबी गरेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई महासचिव चयन गर्न सकस देखिएको थियो । माओवादीमा महासचिवमा ७ जना नेताले दाबी पेश गरेपछि उक्त विषय पेचिलो बनेको थियो ।

सुरुमा प्रचण्डले महासचिवमा बर्षमान पुन र जनार्दन शर्मामध्ये एक जनालाई महासचिव बनाउने मोडमा थिए । पुन र शर्माले जोडदार दावी कायम राख्दा अध्यक्ष प्रचण्डलाई महासचिव प्रस्ताव गर्न सकस देखिएको थियो ।

पुन र शर्माले एकअर्कालाई रोक्न महासचिव हुन नसकेको अवस्थामा अरू नेतालाई अघि सारेपछि प्रचण्डले गुरुङलाई महासचिव बनाएका हुन् । पुन र शर्मामध्ये जुनसुकै एक जनालाई महासचिव बनाउँदा आफ्नो सम्वन्ध बिग्रिने डरले प्रचण्डले गुरुङलाई महासचिव बनाएका हुन् ।

गुरुङ पार्टी विघटन हुँदा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादीमा थिए । उनी रामबहादुर थापा ‘बादल’सँगै माओवादी केन्द्रमा फर्किएका थिए भने बादल भने अहिले एमालेमै बसेका छन् । माओवादीभित्र ‘कान्छाबहादुर’का रुपमा परिचित गुरुङ इमान्दार नेताका रूपमा स्थापित हुन् ।

हाल माओवादीको संसदीय दलको प्रमुख सचेतकको भूमिकामा समेत रहेका गुरुङ पार्टीभित्र चौथो बरियतामा थिए । गुरुङ पूर्वकानुनमन्त्री पनि हुन् । महासचिव गुरुङ पार्टीको सिद्धान्तमा अडिक नेताको रुपमा चिनिन्छन् ।

यो पनि पढ्नुहोस्

प्रचण्डलाई महासचिव चयन गर्न अझै सकस, ७ जना नेताले गरे दाबी

पदाधिकारी चयन गर्न माओवादी बैठक किन पटक-पटक अनिर्णीत हुन्छ ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !