१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डलाई महासचिव चयन गर्न अझै सकस, ७ जना नेताले गरे दाबी


तनावमा प्रचण्ड फाइल फोटो

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको महासचिव चयन गर्न अझै सकस देखिएको छ । माओवादीको आज बसेको स्थायी समिति बैठकमा ७ जना नेताले महासचिव पदमा दाबी गरेपछि प्रचण्डलाई महासचिव चयन फलामको चिउरा झैँ भएको हो ।

महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि माओवादी केन्द्रले केन्द्रीय पदाधिकारी चयन गर्न नसकेको भनेर आरोप लाग्दै आएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई महासचिव पदका लागि ७ जना नेताले दाबी पेश गरेपछि माओवादीमा उक्त विषय पेचिलो बन्दै गएको हो ।

पार्टी कार्यालय, पेरिसडाँडामा आज शुक्रबार बसेको स्थायी कमिटी बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा आफ्नो पनि दाबी रहेको बताएका छन् ।

महासचिव पदमा सुरुमा पुन र शर्माको दावेदारी रहेको थियो । महासचिवमा पुन र शर्माले जोडदार दावी कायम राख्दा अध्यक्ष प्रचण्डलाई पदाधिकारी छान्न सकस देखिएको थियो । यसअघि प्रचण्डले शर्मा र पुनमध्ये एक जनालाई महासचिव बनाउन चाहेका थिए ।

पुन र शर्माले एकअर्कालाई रोक्न महासचिव हुन नसकेको अवस्थामा अरू नेतालाई अघि सारेपछि प्रचण्डले देव गुरुङलाई महासचिव बनाउन चाहेका थिए । पुन र शर्मामध्ये जुनसुकै एक जनालाई महासचिव बनाउँदा आफ्नो सम्वन्ध बिग्रिने डरले प्रचण्डले गुरुङलाई महासचिव बनाउन खोजेका थिए ।

महासचिवका दावेदार गरेका पुन र शर्मालाई उमहासचिवमा चयन गर्ने मनस्थितिमा प्रचण्ड थिए । प्रचण्डले आज गुरुङको नाम प्रस्ताव गरेर आजको स्थायी समिति बैठकबाट अनुमोदन गर्ने रणनीतिमा रहेको बेला थप ४ जनाले समेत दावी पेश गरेपछि कसलाई प्रस्ताव गर्ने भन्ने विषयमा प्रचण्डलाई थप दवाव सिर्जना भएको हो ।

पदाधिकारी लगायत पार्टीका साङ्गठनिक संरचनालाई अन्तिमरुप दिने भन्दै पछिल्ला केही दिनदेखि बसिरहेको माओवादी स्थायी समिति बैठक अनिर्णीत बनिरहेको छ । बैठक बस्ने, छलफल हुने तर निष्कर्षमा पुग्न नसक्दा पदाधिकारी घोषणा हुन नसकेको माओवादी नेताहरुको स्वीकारोक्ति छ ।

महासचिवको चयनलाई लिएर पार्टीभित्र सङ्घर्ष बढेको नेताहरुको भनाइ छ । यद्यपि नेताद्वय वर्षमान र जनार्दनले आफूहरुको कारण पदाधिकारी नटुंगिएको भन्ने सन्देश गएको भन्दै छिटो टुंग्याउन आग्रह गरेका थिए ।

यो पनि पढ्नुहोस्

पदाधिकारी चयन गर्न माओवादी बैठक किन पटक-पटक अनिर्णीत हुन्छ ?

आज पनि टुंगो लागेन माओवादी केन्द्रको पदाधिकारी, बैठक भोलि बस्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु