२६ बैशाख २०८१, बुधबार

राष्ट्रिय सभाद्वारा दुई विधेयकलाई पुनः पारित


राष्ट्रियसभाको बैठक

काठमाडौं । राष्ट्रिय सभाको आजको दोस्रो बैठकले दुई विधेयक माथि प्रतिनिधि सभाबाट भएको संशोधनलाई स्वीकार गरी सर्वसम्मतीले पुनः पारित गरेको छ । बैठकले ‘नेपाल ईन्जिनियरिङ परिषद्(पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्योष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ माथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार गरि पुनः पारित गरेको हो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईस्तियाक राईले राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधि सभामा पठाइएको ‘नेपाल ईन्जिनियरिङ परिषद्(पहिलो संशोधन) विधेयक, २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यस्तै, बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रिय सभाबाट पारी गरी प्रतिनिधि सभामा पठाइएको ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तु गरेकी थिइन् ।

दोस्रो बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा(पार्वती)ले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन, २०७८/०७९’ पेश गरेकी थिइन् ।

बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘खानेपानी तथा सरसफाई विधेयक, २०७६’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन, सामाजिक व्यवहार सुधार ऐन, २०३३ को उत्तर विधायिकी परीक्षण अध्ययन प्रतिवेदन, २०७७ र संक्रामक रोग ऐन २०२० को उत्तर विधायिकी परीक्षण अध्ययन प्रतिवेदन, २०७८ पेश गरेका थिए ।

आजको दोस्रो बैठकले ‘कारागार विधेयक, २०७६’ लाई सर्वसम्मतीले स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘कारागार विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्ताव माथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नहरुको गृहमन्त्री खाणले जवाफ समेत दिएका थिए । राष्ट्रिय सभाको अर्को बैठक आजै २ बजे पुनः बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !