२३ बैशाख २०८१, आइतबार

प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित


पुष्पा भुसाल

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको आज बसेको दोस्रो सत्रको बैठकले उपसभामुखमा भुसाललाई निर्वाचित गरेको हो ।

उपसभामुखको मतदानमा २ सय ४२ जना सांसदहरु सहभागी भएका थिए । उपसभामुखमा निर्वाचित भुसालको पक्षमा १४८ मत परेको छ भने विपक्षमा ९३ मत खसेको छ भने भोट दिन्न भन्ने पक्षमा १ मत खसेको छ ।

सांसद भुसालले प्राप्त गरेको मत प्रतिनिधिसभामा तत्काल कायमको रहेको सांसदहरुको बहुमत भएकाले सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख पदमा उनी निर्वाचित भएको घोषण गरेका थिए । प्रतिनिधिसभामा उपसभामुख पदका लागि पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार भुसाल र नेकपा एमालेको तर्फबाट विद्या भट्टराईको प्रस्ताव प्रस्तुत भएको थियो ।

काँग्रेस सांसद भुसालको उम्मेदवारीमा माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) की सांसद लक्ष्मीकुमारी चौधरीको समर्थक रहेकी थिइन् । यस्तै एमाले सांसद भट्टराईको उम्मेदवारीमा एमालेको संसदीय दलकी सचेतक शान्ता चौधरी प्रस्तावक र एमालेकै सांसद कृष्णभक्त पोखरेल समर्थक रहेका थिए ।

यसअघि पनि उपसभामुखको उम्मेदवार बनेकी उनी तत्कालीन नेकपा एमालेकी डा. शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् । २०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्वाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गरेर पराजित भएकी थिइन् ।

अहिले सत्ता गठबन्धनको तर्फबाट उपसभामुखको दोस्रोपटक उम्मेदवार बनेकी भुसालले अहिले बाजी मरेकी हुन् । तत्कालीन उपसभामुख तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते आफ्नो पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहेको थियो । करिब साढे दुई वर्ष पछि प्रतिनिधिसभाले उपसभामुख पाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !