२२ बैशाख २०८१, शनिबार

बालुवाटारमा मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक जारी, महत्त्वपूर्ण निर्णय आउन सक्ने


प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक जारी रहेको छ । बालुवाटारमा जारी प्रधानमन्त्री देउवाले बोलाएको मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठकले महत्त्वपूर्ण निर्णय गर्न सक्ने आंकलन गरिएको छ ।

आखिर किन प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक ? भनेर चासो बढेको छ । प्राय: गरेर मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमबार र बिहीबार बस्ने गर्दछ । तर कुनै महत्त्वपूर्ण विषयमा निर्णय गर्नुपरेको अवस्थामा जुनसुकै बेला पनि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने गर्छ ।

आजै बिहान मात्रै बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेलगत्तै मन्त्रिपरिषद्को बैठक बसेको हो । बैठकमा राष्ट्रिय अनुसन्धान विभागको एआइजी नियुक्तिबारे पनि निर्णय हुन सक्ने प्रवल सम्भावना रहेको बुझिएको छ ।

सत्ता गठबन्धनमा संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा उक्त सहमति जुटेको काँग्रेसका एक नेताले बताए ।

यस विषयमा पनि मन्त्रिपरिषद्को बैठकले केही निर्णय गर्न सक्ने अनुमान गर्न पनि सकिन्छ । संक्रमणकालीन न्यायसँग जोडिएको कानून संशोधनको विधेयक सरकारले आजै संसदमा पेश गर्ने तयारी गरेको बुझिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले नैतिक रुपमा राजीनामा दिनुपर्ने बताएका छन् । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरुले गभर्नरले राजीनामा दिनुपर्ने विषय उठाएपछि देउवाले सो कुरा बताएका हुन् । आजको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीलाई बर्खास्त गर्न सक्ने पनि अर्को सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !