२३ बैशाख २०८१, आइतबार

हिजो टाउकाको मोल तोक्ने र तोकिनेले आज काले-काले मिलेर खाँदैछन् भाले : अध्यक्ष ओली


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हिजो टाउकाको मोल तोक्ने र तोकिनेले टाउको जोडी आज काले-काले मिलेर सत्ताको दुरुपयोग गरेर भाले खाँदै गरेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लाई व्यंग गर्दै टाउकाको मोल तोक्ने देउवासँग प्रचण्डले घाँटी जोडेर सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले टाउकोको मोल तोक्ने र अर्काको टाउकोमा बम हान्ने दुवै पक्ष मिलेर देश लुट्न लागेको बताएका हुन् । उनले दुबै पक्ष आज देश लुट्ने र युद्ध पीडितलाई झन् पिडा दिने खेलमा संलग्न रहेको आरोप लगाएका हुन् ।

ओलीले टाउको मोल तोक्ने शेरबहादुर देउवा र बम हान्ने प्रचण्डलाई लक्षित गर्दै दुवै नेताको एक मात्र उद्देश्य हानिकारक गठबन्धन टिकाउने बाहेक केही नरहेको व्यंग गरे । ओलीले आफ्ना पालामा संक्रमणकालीन न्याय निरूपणको काम टुंगिन लाग्दा एमालेले जस लिन लागेको भनेर अहिले सरकारमा हुनेहरूले काम हुन नदिएको दावी समेत गरे ।

दुई दशकअघि २०५९ वैशाख १० गते बसेको तत्कालीन शेरबहादुर देउवाको सरकारले माओवादी नेताका टाउकाको मूल्य २५ देखि ५० लाख तोकेको थियो । सो समयको देउवा सरकारको नजरमा प्रचण्ड, बाबुराम भट्टराई लगायतका माओवादी नेताहरु तालिवान र बोकोहराम जस्तै आतंककारी तोकिएका थिए ।

आज हिजोका तीनै प्रचण्डको समर्थनमा देउवा पाँचौपटक सत्ताको बागडोरमा पुग्ने भाग्यमानी बनेकोप्रति एमाले अध्यक्ष ओलीले तीखो व्यंग प्रहार गरेका हुन् । अहिले प्रचण्डको नजरमा युद्धका सारथि विप्लव, वैद्य र बाबुरामहरु भन्दा देउवा असल सारथि बनेका छन् किनकी राजनीतिका कोही पनि स्थायी शत्रु र मित्र नहुने भएर होला की ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !