२० बैशाख २०८१, बिहिबार

पर्यटनमन्त्री प्रेम आलेलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण


प्रेमबहादुर आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको भन्दै मन्त्री आलेलाई आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

मन्त्री आलेविरुद्ध डोटीको जोरायल गाउँपालिकाका एमाले उम्मेदवार दुर्गादत्त ओझाको चरित्र हत्या गर्ने खालका भिडियो सार्वजनिक स्थलमा राखेको, गुण्डागर्दी गर्दै अराजक टिम परिचालन गरी ज्यान मार्ने धम्की दिएको भन्दै आयोगमा उजुरी परेको थियो ।

यस्तै डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)को संयुक्त आयोजनामा वैशाख २६ मा भएको चुनावी सभामा पार्टीका लागि मत मागेको, मतदाता भड्काउन भ्रमात्मक भाषण दिएको, तडकभडक गर्दै भोजभत्तेर गरेको भन्दै पनि उनीविरुद्ध उजुरी परेपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले निर्वाचन आचारसंहिता, २०७८ को विभिन्न दफाविरुद्ध हुने गरी के कसो भएको हो र कारवाही किन गर्नु नपर्ने हो ? भन्ने प्रश्नसहित स्पष्टीकरण मागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !