२३ बैशाख २०८१, आइतबार

चुनावी भागबण्डा मिलाउन सत्ता गठबन्धन बैठक जारी


सत्ता गठबन्धन

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी भागबण्डा मिलाउन पाँच दलीय सत्ता गठबन्धन बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । आज बिहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा कुनै सहमति जुट्न नसकी निष्कर्षविहीन भएपछि सहमतिको बिन्दुमा पुग्न पुन: बैठक बसेको हो ।

आज गठबन्धनका शीर्ष नेताहरुसहित बसेको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकले पालिकाहरुमा भागबण्डा मिलाउने भन्ने विषय तय गरिएको थियो । बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलबीच भागबण्डाका विषयमा छलफल भएको थियो ।

यसरी गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डाका विषयमा तीब्र मतभेद सिर्जना भएको थियो । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी समेत दिएका छन् ।

आज बिहान बसेको बैठकमा महानगर र उपमहानगरमा आ-आफ्नो दाबी कायमै राखेपछि कुनै पनि सहमति जुट्न सकेको थिएन । बैठक आजै फेरि बस्ने गरी स्थगित गरिएको थियो । सो बैठकपछि पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाको भागबण्डामा सहमति भएको खुलासा गरेका थिए ।

अध्यक्ष प्रचण्डका अनुसार सत्ता गठबन्धनमा देशभर रहेका ६ वटा महानगरपालिकाको भागबण्डा मिलेको उनले बताएका हुन् । उनका अनुसार देशभरका ६ महानगरमा कांग्रेसलाई ३ वटा, माओवादी, एकीकृत समाजवादी र जसपालाई १-१ सिट दिने लगभग सहमति पुगेको बताएका हुन् ।

उनले आजै बेलुकी गठबन्धनको बैठक बसेर महानगर र उपमहागर गरी १७ पालिकाको टुंगो लगाउँने समेत बताए । प्रचण्ड निकट स्रोतका अनुसार काठमाडौं, ललितपुर र विराटनगरमा कांग्रेस, भरतपुरमा माओवादी, पोखरामा एकीकृत समाजवादी र वीरगञ्जमा जनता समाजवादीले लिने कलगभग सहमति भएको छ ।

आज बिहान बालुवाटारमा बसेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले मोटामोटी सहमति गरेको स्रोतको दाबी रहेको छ । गठबन्धनले आज साँझसम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार समेत टुङ्गो लगाउने भएका हुन् । पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका दलले ६ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्ने भएका हुन् ।

यो पनि पढ्नुहोस्

गठबन्धनमा महानगरको भागबण्डा सहमति नजिक : कांग्रेसलाई ३, अन्य पार्टीलाई १-१

गठबन्धनका शीर्ष नेताको बैठक सकियो, आज पनि जुटेन सहमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !