११ जेष्ठ २०८१, शुक्रबार

गठबन्धनका शीर्ष नेताको बैठक सकियो, आज पनि जुटेन सहमति


सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको आज बसेको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठकमा कुनै सहमति जुट्न नसकी निष्कर्षविहीन भएको हो ।

आज बसेको बैठकमा महानगर र उपमहानगरमा आ-आफ्नो दाबी कायमै राखेपछि कुनै पनि सहमति जुट्न नसकेको हो । बैठक आजै फेरि बस्ने गरी स्थगित भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

आज गठबन्धनका शीर्ष नेताहरुसहित बसेको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकले पालिकाहरुमा भागबण्डा मिलाउने भन्ने विषय तय गरिएको थियो । बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलबीच भागबण्डाका विषयमा छलफल भएको थियो ।

यसरी गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डाका विषयमा तीब्र मतभेद सिर्जना भएको छ । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी समेत दिएका छन् । एकीकृत समाजवादीलाई सम्मानजनक सिट नदिने संकेत पाएका अध्यक्ष नेपालले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिको अवमूल्यन नगर्न गठबन्धनकै अन्य दललाई चेतावनी दिएका थिए । अध्यक्ष नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यहार गर्ने गरेको समेत गुनासो गर्दै आएका छन् ।

सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा स्थानीय तहको निर्वाचनमा भागबण्डाबारे हिजो पनि सहमति जुट्न सकेन । हिजो आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समितिको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !