२२ बैशाख २०८१, शनिबार

गठबन्धनमा महानगरको भागबण्डा सहमति नजिक : कांग्रेसलाई ३, अन्य पार्टीलाई १-१


प्रचण्ड

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनमा महानगरपालिकामा गर्ने भनिएको भागबण्डा सहमति नजिक पुगेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाको भागबण्डामा सहमति भएको खुलासा गरेका हुन् ।

अध्यक्ष प्रचण्डका अनुसार सत्ता गठबन्धनमा देशभर रहेका ६ वटा महानगरपालिकाको भागबण्डा मिलेको उनले बताएका हुन् । उनका अनुसार देशभरका ६ महानगरमा कांग्रेसलाई ३ वटा, माओवादी, एकीकृत समाजवादी र जसपालाई १-१ सिट दिने लगभग सहमति पुगेको बताएका हुन् ।

उनले आजै बेलुकी गठबन्धनको बैठक बसेर महानगर र उपमहागर गरी १७ पालिकाको टुंगो लगाउँने समेत बताए । प्रचण्ड निकट स्रोतका अनुसार काठमाडौं, ललितपुर र विराटनगरमा कांग्रेस, भरतपुरमा माओवादी, पोखरामा एकीकृत समाजवादी र वीरगञ्जमा जनता समाजवादीले लिने कलगभग सहमति भएको छ ।

आज बिहान बालुवाटारमा बसेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले मोटामोटी सहमति गरेको स्रोतको दाबी रहेको छ । गठबन्धनले आज साँझसम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार समेत टुङ्गो लगाउने भएका हुन् । पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका दलले ६ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्ने भएका हुन् ।

त्यस्तै नगरपालिका र गाउँपालिकाको हकमा निर्णय गर्ने अधिकार जिल्ला समितिलाई नै दिइएको छ । जिल्ला समितिले टुङ्गो लगाउन नसकेका र मतैक्य हुन नसकेका स्थानमा भने केन्द्रकातर्फबाट सुझाव दिएर निष्कर्ष निकालिने उनको भनाइ छ ।

कतिपय जिल्लामा गठबन्धनले साझा उम्मेदवार तय गरी घोषणासमेत गरिसकेका छन् भने केही जिल्लामा छलफल जारी छ । निष्कर्ष निस्कन बाँकी रहेका जिल्लाकोसमेत छिट्टै परिणाम सार्वजनिक हुने अध्यक्ष प्रचण्डको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !