२५ बैशाख २०८१, मंगलबार

संसदमा सभामुखको रुलिङ : सदन चलाउन सहयोग गर्नुस्


प्रतिनिधिसभाको विशेष बैठक

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी बनाउन र राष्ट्रका समस्या समाधानमा केन्द्रित हुन सबै सांसदलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समेत प्रमुख विपक्षी नेकपा (एमाले) का सांसदहरुले नाराबाजीसहित विरोध गरेपछि सभामुखले विशेष रुलिङ गर्दै सो आग्रह गरेका हुन् । लगातार छ महिनादेखि एमालेले संसद्को कारवाहीमा सहभागी नभई नाराबाजी गरिरहेको छ ।

अवरोधका बीचमा अमेरिकी सहयोग सम्झौतालगायतका केही कार्यसूची अगाडि बढे पनि अरु महत्वपूर्ण कानून भने पारित हुन सकेको छैन । प्रतिनिधिसभामा विचाराधीन रहेका ४२ विधेयकलाई नियमानुसार पारित गर्नुपर्नेछ ।

यस्तै नागरिकका दैनिक समस्या जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने कार्यसमेत अवरोधका कारण प्रभावित हुन पुगेको सभामुखको भनाइ छ ।

सभामुखले भने, “विचाराधीन विधेयकलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु हामी सबैको दायित्व हो ।” संसद् अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएका तथा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकामा सांसदहरुले आफूलाई पटकपटक ध्यानाकर्षण गराउनुभएको सभामुखले स्मरण गरे ।

संसद्लाई प्रभावकारी बनाउन आमरुपमा प्रश्न उठिरहेको तथ्य पेश गर्दै सभामुखले अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न सबै सांसदलाई सभामुखले विशेष अनुरोध गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !