२३ बैशाख २०८१, आइतबार

संसदको बैठक शुरु, एमसीसी अनुमोदन गर्ने तयारी


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । आजको प्रतिनिधिसभाको बैठक शुरु भएको छ । केही समयअघि शुरु भएको संसद्को बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन गर्ने तयारी सरकारले गरेको छ ।

सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

आज प्रतिनिधिसभाका दुई वटा बैठक राख्ने सरकारले तयारी गरेको हो । पहिलो बैठकमा एमसीसी छलफलका लागि पेश गर्ने र दोस्रो बैठकले अनुमोदन गर्ने रणनीति सरकारले अवलम्वन गरेको हो ।

सरकारको आग्रहमा शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो । सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख सापकोटालाई भेटेर सो दिन बस्ने भनिएको संसदको बैठक आज आइतवारसम्म स्थगित गर्न आग्रह गरेपछि बैठक सारिएको थियो ।

प्रतिनिधिसभाको आज बस्न बैठकमा एमसिसी सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची रहेको छ । संघीय संसद सचिवालयले हिजो शनिबार सार्वजनिक गरेको आजको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तावमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूचीको दोस्रो नम्वरमा उल्लेख गरिएको छ । आज बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश हुने भएको हो ।

यस्तै बैठकको सम्भावित कार्यसूचीको पहिलो नम्वरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !