२१ बैशाख २०८१, शुक्रबार

एमसीसी पारित गर्न गठबन्धन सहमति नजिक, बालुवाटारमा बैठक बस्दै


सत्ता गठबन्धनको बैठक

काठमाडौं । प्रतिनिधिसभामा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन गर्न वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरु सहमति नजिक पुगेका छन् ।

एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज आइतबार विहान १० बजे बस्न लागेको बालुवाटार स्रोतले बताएको छ । बालुवाटारमा बस्न लागेको बैठकले एमसीसीबारे निर्णय गर्ने बताइएको छ ।

प्रचण्ड निकट स्रोतका अनुसार ११ बुँदे परिमार्जनसहित एमसीसी पारित गर्नका लागि गठबन्धन सहमति नजिक पुगेका छन् । परिमार्जनको ड्राफ्ट समेत तयार भइसकेकोले सो विषयमा छलफल गर्न माओवादी नेताहरू छलफलमा जुटेका छन् ।

एमसीसी पास गर्ने बारेमा संस्थागत निर्णय गर्न माओवादी केन्द्र र एकीकृत समाजवादीले लिन बैठक बोलाएका छन् । यी दुई दलहरुको बैठक सकिएलगत्तै सत्ता गठबन्धनको बैठक बसेर एमसीसी पास गर्ने निर्णयमा पुग्ने बुझिएको छ ।

एमसीसी पारित गर्ने विषयमा माओवादीमा देखिएको दुई धारमध्ये एक पक्ष अहिलेकै अवस्थामा कुनै पनि हालतमा एमसीसी सम्झौतालाई पारित गर्न नसकिने अडानमा रहेको छ भने अर्को पक्ष भने वर्तमान सत्ता गठबन्धनलाई जोगाउनका लागि एमसीसीको विषयमा थप लचक देखिएको छ ।

खुमलटारमा जारी बैठकमा संसद्बाट विवादित विषयमा ‘व्याख्यात्मक घोषणा’सहित एमसीसीसम्बन्धि पुरक प्रस्तावलाई अनुमोदन गर्नेबारे छलफल भइरहेको छ । एमसीसी सैन्य रणनीति नभएको, नेपाल र अमेरिकाको कानुन बाझिएको अवस्थामा नेपालको कानुन लागू हुने, लेखापरीक्षण नेपालको महालेखा परीक्षकको कार्यालयले गर्नेलगायत विषयमा व्याख्यात्मक घोषणा गर्नुपर्ने प्रस्तावमाथि छलफल भइरहेको छ ।

एकीकृत समाजवादी एमसीसी सम्झौतामा रहेका केही प्रावधान सच्याएर अगाडि बढ्नुपर्ने पक्षमा देखिएको छ । जनता समाजवादी पार्टी (जसपा) भित्र पनि एमसीसी पास गर्नुपर्ने विषयमा दुई मत देखिएको छ । राष्ट्रिय सहमति गराएर मात्र एमसीसी पास गर्नुपर्ने अडान राख्दै आएका पार्टी अध्यक्ष उपेन्द्र यादव अहिले मौन रहेका छन् भने संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी पास गर्नुपर्ने पक्षमा देखिएका छन् ।

प्रतिनिधिसभा बैठक आज आइतबार दिउसो १ बजे बस्ने भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकका लागि एमसीसी सम्भावित कार्यसूचीमा राखिएको छ । अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !