२५ बैशाख २०८१, मंगलबार

एमसीसी संसदको कार्यसूचीमा परेन, एमालेको विरोधका बाबजुद थारु आयोगको प्रतिवेदन पेश


एमालेद्वारा संसद अवरुद्ध

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा बहुचर्चित तथा विवादित अमेरिकी सहयोग परियोजना(एमसीसी) कार्यसूचीमा परेन । प्रतिनिधि सभाको बैठक अगाडि आजै संसद भवन नयाँ बानेश्वरमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमसीसीलाई टेबुल गर्ने विषयममा सहमति नजुटे पछि एमसीसी कार्यसूचीमा नपरेको हो ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले ‘थारु आयोगको तेस्रो बार्षिक प्रतिवेदन, आ.ब.२०७७/०७८’ पेश गरेका छन् ।

यसैगरी, बैठकले विभिन्न मितिमा दिवंगत भएका तत्कालीन संविधान सभा सदस्य तथा पूर्व सांसदहरुको निधनप्रति तीनवटा शोक प्रस्ताव समेत पारित गरेको छ ।

बैठकले नेपाली काँग्रेसको तर्फबाट २०६४ सालको संविधान सभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य जगतबहादुर ताजपुरिया, २०५८ सालमा तत्कालीन नेकपा(एमाले) को तर्फबाट निर्वाचित राष्ट्रिय सभा सदस्य लक्ष्मीदास मानन्धर तथा २०७० सालको संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा(एमाले)को तर्फबाट निर्वाचित सदस्य डा. दुमन सिंह थापाको निधिन प्रति छुट्टाछुट्टै शोक प्रस्ताव पारित गरेको हो ।

नेता ताजपुरियाको ७८ वर्षको उमेरमा गएको पुस १७ गते, नेता मानन्धरको ९३ वर्षको उमेरमा यही गत माघ ६ गते तथा नेता थापाको ६३ वर्षको उमेरमा गत माघ १६ गते निधन भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाद्वारा बैठकमा छुट्टाछुट्टै प्रस्तुत गरिएको तीनवटै शोक प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो । दिवंगत आत्माको चीर शान्तिको कामना सहित बैठकमा १ मिनेट मौनधारण समेत गरिएको थियो ।

प्रतिनिधि सभाको बैठक शुरु हुने बित्तिकै आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक पर्सी फागुन ६ गते दिउँसो १ बजेका लागि बोलाईएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !